१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

उपत्यकाका खाल्डाखुल्डी धमाधम पुरिँदै

६ पुस, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनसँगै सुरु भएको काठमाडौँ उपत्यकामा सडकका खाल्डाखुल्डी पुर्ने काम तीव्र रूपमा अगाडि बढेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘टाक्स फोर्स’ नै गठन गरेर उपत्यकाको सडकको खाल्डाखुल्डी पुर्ने कार्यलाई अगाडि बढाएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंसिर ९ गते सम्पन्न चालू आव ०७६/७७ को चौमासिक समीक्षा बैठकलाई सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले ‘सडकको खाल्डाखुल्डीको गीत कहिलेसम्म सुन्ने हो’ भन्दै सडकका खाल्डाखुल्डी पुर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएका थिए । दुई सातामा गौशालादेखि चाबहिलसम्म बाहेक चक्रपथको खाल्डाखुल्डी पुर्ने काम पूरा भइसकेको प्रधानमन्त्रीका विकास व्यवस्थापनविज्ञ गजेन्द्र थपलियालाई उद्धृत गर्दै गोरखापत्र दैनिकमा खबर छ ।

उनका अनुसार यस अवधिमा थापाथली–त्रिपुरेश्वर–जमल–शीतलनिवास खण्ड, जडीबुटी–पेप्सीकोला खण्ड, शङ्खमूल–नयाँबानेश्वर खण्ड, सिनामङ्ल–डिल्लीबजार खण्ड, हाँडीगाउँ–मालीगाउँ खण्ड, दरबारमार्ग–जय नेपाल खण्ड, माइतीघर मण्डला–मीनभवन खण्ड र टेकु–कुलेश्वर–बल्खु खण्डमा खाल्डाखुल्डी पुरिने काम पूरा भइसकेका छन् ।

सडकमा पानी चुहावट रोक्न खानेपानी संस्थान, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडसँग यसबारे छलफल भइरहेको बताउँदै उनले चुहावट रोकिएपछि ती ठाउँहरूका खाल्डा पुरिने जानकारी दिए ।

त्यसैगरी सडक डिभिजन कार्यालय, काठमाडौँअन्तर्गत रहेका सडकमध्ये पानी चुहावटबाहेक ७० प्रतिशतमा खाल्डाखुल्डी पुरिने कार्य सम्पन्न भइसकेको जानकारी सडक डिभिजन कार्यालयका इन्जिनियर सुदर्शन कार्कीले दिए । पुसभित्र बाँकी काम सम्पन्न गरिने उनले बताए ।

काठमाडौँ जिल्लामा रहेका जम्मा १६ सय किमि सडकमध्ये मात्र ४ सय किमि सडक डिभिजन कार्यालय, काठमाडौँअन्तर्गत पर्छ । बाँकी काठमाडौँ महानगरपालिकालगायत विभिन्न निकायअन्तर्गत पर्छ ।

त्यसैगरी भक्तपुरका २० सडकमध्ये १३ वटा खाल्डाखुल्डीमुक्त भइसकेको सडक डिभिजन कार्यालय प्रमुख बेलबहादुर भुजेलले जानकारी दिए । खाल्डाखुल्डी पुरिने काम सुरु भएको दुई सातामा १६८ किमिमा खाल्डाखुल्डी पुर्ने काम सम्पन्न भइसकेको उनले बताए ।

सडक डिभिजन कार्यालय ललितपुरका प्रमुख अमृतमणि अर्यालले ललितपुरका सडकमा खाल्डाखुल्डीको समस्या खासै नरहेको बताउँदै मंसिरको १७ यता १ किमि सडकमा खाल्डाखुल्डी पुर्ने काम पूरा भएको जानकारी दिए । सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले उपत्यकामा दैनिक २ सय वर्गमिटर खाल्डाखुल्डी पुर्ने काम भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : ६ पुष २०७६, आईतवार ०६:४६