आज नेकपा स्थायी कमिटी बैठक : प्रतिवेदन र विधान पारितसँगै एमसीसीबारे ठोस निर्णय हुने
६ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज (आइतबार) बस्दै छ । पार्टी मुख्यालय धुम्बराहीमा बिहान ११ बजे बैठक बस्न लागेको हो ।

बैठकमा आज अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त रुपमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित हुने सम्भावना छ । यो पारितका लागि नेतृत्व तह निष्कर्षमै पुगिसकेको स्रोतको दाबी छ ।
सातादिनयता जारी स्थायी कमिटीको बैठकमा छलफल बाँकी रहेकाले राजनीतिक प्रतिवेदन र महासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावसमेत आजै पारित गर्ने तयारी छ ।
एमसीसीबारे ठोस निर्णय
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा पनि आजै ठोस निर्णय हुने सम्भावना छ । एमसीसी इन्डो प्यासेफिक रणनीतिअन्तर्गतको कार्यक्रम हो/होइन भन्ने विषयमा आवश्यक परामर्शका आधारमा निर्णय गरिने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
अमेरिकाले एसिया प्रशान्त क्षेत्रको भौतिक पूर्वाधारको विकासका उक्त कार्यक्रममार्फत सहयोग उपलब्ध गराउँदै आएको छ । नेपालमा पनि प्रसारण लाइन तथा सडक आयोजना सुधारका लागि करिब ६४ अर्ब रुपैयाँ उपलब्ध गराउने सम्झौता यसअघि नै भइसकेको छ । नेपालमा सो परियोजना एमसीसी नेपालको नाममा सञ्चालनमा छ ।
संघीय संसद्को हिउँदे अधिवेशनबाट यो सहयोगसम्बन्धी सम्झौतालाई अनुमोदन गर्ने तयारी छ । स्थायी कमिटी बैठकमा एमसीसीका विषयमा छलफल भएपछि तथ्यका आधारमा निर्णय गर्ने निष्कर्षमा नेकपा पुगेको हो । यसअघिका बैठकमा नेकपाका केही नेताले सो परियोजना इन्डो प्यासेफिक रणनीतिअन्तर्गतको कार्यक्रम भएको बताएका थिए ।
प्रकाशित मिति : 05:57







