१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

निलम्बित वरिष्ठ उपरीक्षक दिवेश लोहनीमाथि कारबाहीको माग


२० वैशाख, विराटनगर । विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्ष्यमा आज विराटनगरमा प्रभातफेरिको आयोजना गरियो । उक्त आयोजनामा नेपाल पत्रकार महासंघ मोरङले नेपाल प्रहरीका निलम्बित वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनीले पत्रकारमाथि गरेको दुव्र्यवहारप्रति घोर भत्र्सना साथै काबाहीको माग गरेको छ ।

नेपाल पत्रकार महासंघ मोरङद्वारा आयोजित उक्त प्रभातफेरि नगरको मुख्य मुख्य भागको परिक्रमा पश्चात कोण सभामा परिणत भएको थियो ।
उक्त प्रभातफेरीमा सञ्चारकर्मी, विभिन्न मानवअधिकारवादी संघसंस्थाका प्रतिनिधि र नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले समाजलाई सुसूचित गर्ने सञ्चारकर्मीको वृत्ति विकासमा महानगरपालिका सदैव सहयोगी हुने बताए ।

महासंघका मोरङ कार्यबाहक अध्यक्ष कुमोद अधिकारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा सञ्चारकर्मी विवेक गौतम, विक्रम लुइँटेल र श्यामसुन्दर सुतियारले समाचार संकलनको क्रममा भोग्नु परेको कठिनाइका सम्बन्धमा चर्चा गरेका थिए ।

सुन गायव र सनम शाक्यको हत्याको सम्बन्धमा बुधबार जिल्ला अदालत मोरङमा समाचार संकलन गर्न पुगेका सञ्चारकर्मी अन्नतराज न्यौपाने, ध्रुव भट्टराई, अनिल श्रेष्ठ र सुमन सुस्केरालाई लोहनीले अश्लिल गाली गर्दै लात्तीले हान्ने प्रयास गरेको सो संघका उपाध्यक्ष कुमोद अधिकारीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गम्भीर अपराधका घटनामा मुछिएका अभियुक्तद्वारा अदालतको परिसरमै भएको यस्ता घटनाले प्रेस स्वतन्त्रतामाथिको हमला भन्दै महासंघले सरकारसँग लोहनीमाथि थप कारबाहीको माग गरेकोे छ ।

प्रकाशित मिति : २० बैशाख २०७५, बिहीबार १२:१३