१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

सिन्धुपाल्चोकमा बालुवा तस्करीमा जिल्ला प्रमुखकै मिलेमताे


– आदित्य दाहाल
२० वैशाख, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती नदीबाट बालुवा तस्करीमा जिल्ला प्रमुखकै मिलेमतो रहेको छ ।
जिल्ला समन्वय समितिले टेण्डर खोलेर नदीजन्य पदार्थको निकासीलाई अनुमति दिएको इन्द्रावती र सुनकोशी नदीबाट जिससको र सम्बन्धित नगरपालिकाको मिलेमतोमा ठेकेदारले अवैधरुपमा गिट्टी बालुवा उत्खनन गर्ने गरेका छन् ।

मेलम्ची नगरपालिकाले इन्द्रावती नदी किनारबाट नदीजन्य पदार्थ उत्खनन गर्न निश्चित मापदण्ड बनाएको भएपनि मापदण्ड विपरीत उत्खनन् गरिरहँदा नगरपालिकाले चासो दिएको छैन ।

नेपाल सरकारले क्रसर सञ्चालनका लागि राजमार्गबाट ५०० मिटर टाढा, खोलाकिनारबाट ५०० मिटर टाढा, वन तथा आरक्षणबाट दुई किलोमिटर टाढा हुुनुपर्ने मापदण्ड तोकेको छ । अहिले इन्द्रावती नदी किनारमा सञ्चालन भएका क्रसर तोकिएको मापदण्ड विपरीत निर्वाधरुपमा चलिरहँदा पनि स्थानीय सरकार तथा जनप्रतिनिधि मौन बसेका छन् ।

एक स्थानीयका अनुसार जिसस र नगरपालिकाले तोकेको स्थानभन्दा बाहिरबाट मनोमानी तरिकाले गिट्टी बालुवा उत्खनन गरिरहेको भए पनि मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल र सम्बन्धित निकायले भने कुनै कारबाहीको दायरामा ल्याउने गरेको नभएको बताए ।

नदीको धार नै परिवर्तन गरेर अवैध उत्खनन गर्दा र अनाधिकृतरुपमा नदीभित्र स्काभेटर प्रयोग गरेको सूचना दिँदासमेत स्थानीय प्रशासन र नगरपालिकाले कुनै प्रतिक्रिया नदिने स्थानीय बताउँछन् ।

पाल्चोकी क्रसरदेखि लामा क्रसरसम्मले नदीको धारनै परिर्वतन गरी उत्खनन गर्ने गरेका छन् । स्वतन्त्ररुपमा बगेको नदीको धार परिर्वतन गरी नदीजन्य पदार्थ झिक्दा पनि नगरपालिकाले कानमा तेल हालेर बसेकाले रकमको चलखेल भएको स्थानीयले आरोप लगाएका छन् ।

स्काभेटरले खन्दा इन्द्रावती नदी किनारभरि ट्र्याक्टर नै पुरिने खाल्डा बनेका छन् । बाहुनीपाटीका एक स्थानीयवासीका अनुसार रातदिन नदीमा स्काभेटर प्रयोग गर्छन् । रातमा स्काभेटर चलेर निन्द्रासमेत लाग्दैन तर स्थानीय प्रशासन मौन बस्छन्, रोक्नका लागि कुरा गर्दासमेत वास्ता गर्दैनन् ।

स्थानीय सञ्चारकर्मीले स्काभेटरले खोलाभित्रबाट धारै परिर्वतन गरी नदीजन्य पदार्थ निकालेकोे इप्रका मेलम्चीलाई पटकपटक जानकारी गराउँदा प्रहरी निरीक्षक पर्शुराम मल्लले नगरपालिकाबाट कारबाहीको लागि कुनै आधिकारिक पत्र नआएको बताए ।

प्रकाशित मिति : २० बैशाख २०७५, बिहीबार ११:२९