आजबाट संसद् अधिवेशन : कार्यसूची सभामुख चयन
४ पुस, काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आज (शुक्रबार) देखि सुरु हुँदै छ । हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रूपमा पनि लिइन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दिउँसो २ बजे दुवै सदनको बैठक आह्वान गरेकी छन् ।
हिउँदे अधिवेशनमा प्रतिनिधिसभाको प्रमुख कार्यसूची नै सभामुख चयन छ । असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि पद रिक्त छ । शुक्रबारको पहिलो बैठक भने उपसभामुख शिवमाया तुम्बाहाम्फेले सञ्चालन गर्नेछिन् ।
संविधानको धारा ९१ (४) को व्यवस्थाअनुसार सभामुखको अनुपस्थितिमा उपसभामुखले बैठक सञ्चालन गर्नेछिन् । सभामुख तथा उपसभामुख दुवैको स्थान रिक्त रहेको अवस्थामा भने ज्येष्ठ सदस्यबाट बैठक सञ्चालन गर्नसक्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : 06:01









