नेकपामा एमसीसीकै किचलो !
३ पुस, काठमाडौं । सत्तासीन नेकपा स्थायी समिति बैठक विकास र सहयोगसम्बन्धी अमेरिकी सहायतासम्बन्धी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमै केन्द्रित भएको छ । बैठकमा एमसीसीको विरोध र समर्थन गर्ने क्रम जारी छ ।
सरकारले एमसीसी प्रस्ताव संसद्बाट अनुमोदन गराउन ०७५ असार ३० मा दर्ता गराएको थियो । प्रस्ताव संसद्को हिउँदे अधिवेशनमा पारित गराउने तयारी छ ।
बैठकमा पर्यटनमन्त्रीसमेत रहेका योगेश भट्टराईले एमसीसीको सन्दर्भ प्रवेश गराएका थिए । त्यसपछि बुधबारसम्म नेताहरू देव गुरुङ, भीम रावल, युवराज ज्ञवाली, मणि थापा, रघुजी पन्तलगायतले एमसीसीका विपक्षमा मत राखेको खबर अन्नपूर्ण पोस्टमा छ ।
परराष्ट्रमन्त्रीसमेत रहेका नेता प्रदीप ज्ञवालीले भने बुधबारको बैठकमा एमसीसी प्रस्ताव पारित गर्नैपर्ने बताए । ‘एमसीसी हामी सरकारमा आएपछि गरेको सम्झौता होइन । हामी सरकारमा आउनुअघिकै हो । अमेरिकाको यो परियोजनामा दर्जनौं साना राष्ट्र सहभागी छन्’, ज्ञवालीलाई उद्धृत गर्दै स्थायी समिति सदस्य सत्यनारायण मण्डलले भने, ‘इन्डो प्यासेफिक २०१७ देखि मात्रै आएको हो । एमसीसी र आईपीएसको सम्बन्ध देखिन्न ।’
मन्त्री ज्ञवालीले आफूले सूक्ष्म रूपमा अध्ययन गर्दा एमसीसी परियोजना आईपीएस जोडिएर आएको नदेखिएको बताएका थिए । ‘एमसीसी आईपीएसको अंग हुँदै होइन । हामी होसियारीपूर्वक अगाडि बढेका छौं,’ उनले भने, ‘आईपीएसलाई अगाडि बढाउँदा देशको हित हुन्छ ।’

नेता पन्तले भने एमसीसी प्रस्ताव आईपीएससँगै जोडिएर आएको तर्क गरेका थिए । ‘यो आईपीएसअन्तर्गतकै अभिन्न अंगका रूपमा आएको छ । यस विषयमा प्रस्ट नभई हतारिएर जान खोज्दा अप्ठ्यारो हुनेछ,’ पन्तले भनेका थिए ।
प्रकाशित मिति : 07:49







