१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

थामिएन धितोपत्र बजार, नेप्से परिसूचक ३.३० अङ्कले घट्याे

२ पुस, काठमाडाैँ । मङ्गलबार सुधार देखिएको धितोपत्र बजार बुधबार पुनःओरालो लागेको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार आज धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ३.३० अङ्कले घटेर एक हजार १५२.०७ तथा सेन्सेटिभ परिसूचक ०.८० अङ्कले घटेर २५२.४७ मा पुगेको छ ।

परिसूचक घटेसँगै कारोवार रकम पनि खुम्चिएको छ । आज कूल १६५ कम्पनीका नौ लाख ४७ हजार ८५३ कित्ता शेयर रु २९ करोड ४७ लाख नौ हजार ८५८ मा खरीद बिक्री भयो । कारोवार भएका कूल १२ उपसमूहमध्ये तीन उपसमूहको मात्र शेयर उकालो लागेको छ ।

व्यापार २०.१९, विकास बैंक २.०५ र अन्य उपसमूहको शेयर ०.६८ अङ्कले बढेको छ । बैंकिङ १.७४, होटल ४३.०७, जलविद्युत् ७.३९, वित्त १.३१, निर्जीवन बीमा ३७.७३, उत्पादन ११.७७, माइक्रोफाइनान्स ८.१८, जीवन बीमा २२.३७ र सामूहिक लगानी कोषको शेयर ०.०२ अङ्कले ओरालो लागेको छ ।

कारोवार रकमका आधारमा एनएमबी बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको शेयर रु चार करोड ९० लाख २३ हजार २३५ मा खरीद बिक्री भयो । यस्तै नेपाल बैंक लिमिटेड रु एक करोड ६२ लाख ११ हजार ४४६, नविल बैंक लिमिटेड रु एक करोड १४ लाख १० हजार ६२७, साल्ट ट्रेडिङ कर्पोरेशन रु एक करोड १२ लाख ८१ हजार २०२ र नेपाल लाइफ इस्योरेन्सको शेयर रु ८७ लाख ४० हजार २८३ मा खरीद बिक्री भयो ।

समग्र परिसूचक घटे पनि विशाल बजार कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतले कमाए । यस्तै नेपाल फाइनान्स ९.५६, दिव्यश्वरी हाइड्रोपावर ९.२६, कालिका पावर ४.९४, समिट लघुवित्त वित्तीय संस्था ३.८६ र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका शेयरधनीले ३.६४ प्रतिशतले कमाए ।

नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७.६९, सिभिल लघुवित्त वित्तीय संस्था ६.०२, सिजर्नी पावर डेभलपमेन्ट ५.२०, वेष्ट फाइनान्स कम्पनी ४.५४, आइएमई जनरल इन्स्योरेन्स ३.९० र पाँचथर पावर कम्पान्टका शेयरधनीले ३.७० प्रतिशतले गुमाए ।

प्रकाशित मिति : December 18, 2019 at 7:22 pm