१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

दाइजोको कारण गयो महिलाको ज्यान


१९ वैशाख, पर्सा । पर्सामा दाइजोको रुपमा माग गरिएको बुलेट मोटरसाइकल केटी पक्षले नदिएकै कारण वीरगन्ज महानगरपालिका–३१ इस्लामपुर अफरोज आलमकी २१ वर्षीय श्रीमती अन्जुम आराले ज्यान गुमाएकी छिन् ।

वैशाख १८ गते बिहान ९ बजे देवरको कोठामा अन्जुमको शव प्रहरीले शंकास्पद अवस्थामा फेला पारेको थियो । अन्जुम देवरको कोठामा गई आफ्नै दुपट्टाले पासो लगाई आत्महत्या गरेको ससुराली पक्षले प्रहरीलाई जानकारी दिएपछि घटनास्थलमा पुगेको प्रहरीले अन्जुमको शव भुइँमा रहेको अवस्थामा फेला पारेको पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।

घटनाको अनुसन्धान गर्दै जाँदा ससुराली पक्षले दिएको जानकारी र घटनाको प्रकृति फरक भेटिएपछि अनुसन्धानका लागि तीन महिला र एक पुरुष गरी चारजनालाई नियन्त्रणमा लिइएको प्रहरीले बताए ।

उहाँका अनुसार अन्जुमको शव फेला परेको कोठा खुल्ला रहेको, अन्जुमले लगाएको चुरा उनकै कोठामा फुटेर छरिएको अवस्थामा फेला परेको, अन्जुमको घाँटीमा परेको डाम शंकास्पद देखिनाका साथै ससुराली पक्षले घटनाबारे दिएको बयान र घटनास्थलको प्रकृति मेल नखाएपछि आवश्यक अनुसन्धानका लागि अन्जुमका ससुरा कमरुदिन फकिर, सासू हुसना खातुन, नन्द अंगुरी खातुन र फुफू सासू जमिला खातुनलाई नियन्त्रणमा लिइएको हो ।

पाँच महिना अगाडि रोजगारीका लागि कतार गएका अफरोजले यही १६ गते फोन गरी बुलेट मोटरसाइकल माग गरेको र नदिए राम्रो नहुने चेतावनी समेत दिएको अन्जमुका आमा रोशन जहाँले जानकारी दिए । उनले घटनाभन्दा एक दिन अगाडि अन्जुमले फोन गरी मोटसाइकल नदिएका कारण ससुराली पक्षले आफूलाई धेरै दुःख दिएको गुनासो गरेको पनि बताए ।

अठार महिनाअघि अफरोजसँग अन्जुमको विवाह गर्दा भारु दुई लाख ५० हजार नगद र एउटा भैंसी दाइजो दिएको अन्जुमका पिता भारत विहार रमगढवा थाना पलनवा गाउँ निवासी मुस्तकिम देवानले जानकारी दिए ।

विवाह भएको पाँच÷छ महिनापछि नै थप दाइजोको रुपमा बुलेट मोटरसाइकलको माग गर्दै छोरीलाई कुटपिट गर्दैआएको र एक वर्ष अगाडि सो विषयलाई लिई इस्लामपुरमा भद्रभलादमीलाई राखी पञ्चायती समेत गरेको बताए ।

वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा आज अन्जुमको शव परीक्षणपछि शव माइती पक्षलाई जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक लिम्बूले जानकारी दिए ।

उनका अनुसार घटनाबारे थप कुरा बुझ्न अन्जुमका श्रीमान् अफरोजलाई नेपाल फिर्ता आउन आग्रह गरिएको छ ।

चालु आर्थिक वर्षको गएको दश महिनामा पर्सा जिल्लामा दाइजोकै कारण प्रताडणा खेप्न नसकी २६ जना महिलाले आत्महत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७५, बुधबार २०:३५