१४ पुष २०८२, सोमबार | Mon Dec 29 2025

सन्तोषजनक छैन केयूकेएलको प्रगति

१ पुस, काठमाडौं मेलम्ची खानेपानी विकास समिति आयोजना-२ कार्यान्वयन निर्देशनालय र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को कार्य प्रगति सन्तोषजनक देखिएको छैन । आव ०७६/७७ मा खानेपानी मन्त्रालय मातहतका निकायको भौतिक तथा वित्तीय प्रगति सन्तोषजनक देखिए पनि केही निकायको प्रगति भने निकै सुस्त छ ।

निर्देशनालयले पूरा गरिसक्नुपर्ने काम गरेको छैन भने लिमिटेडले उपलब्ध खानेपानीलाई समेत व्यवस्थित गर्न नसकेको खानेपानी मन्त्रालयका सहसचिव तथा प्रवक्ता रितेशकुमार शाक्यले बताए । ‘मन्त्रालयको पहिलो चौमासिक प्रगति हेर्दा हामी सन्तोषजनक अवस्थामा छौँ, मेलम्ची खानेपानी आयोजनाको काम सुरु भएको छ तर आयोजना–२ ले त्यति तीव्र साथ काम गरिरहेको छैन,’ उनले भने, ‘फोहोर पानी प्रशोधन केन्द्रको निर्माणमा ढिलाइ भइरहेको छ, केयूकेएलको कामप्रति हामीले सन्तोष मान्न सक्ने अवस्था छैन, पुरानो संरचना छ, उपलब्ध पानीलाई पनि व्यवस्थित गर्न सकिरहेको छैन, राम्रोसँग काम भएको छैन हामी सन्तुष्ट छैनौँ ।’

केयूकेएल र निर्देशनालयबाहेका मन्त्रालयले सन्तोषजनक काम गरेको शाक्यको दाबी छ । धोबीघाटमा निर्माण गर्न भनिएको फोहोर पानी प्रशोधन केन्द्र सुरु हुन नसकेको खबर गोरखापत्र दैनिकमा छ । मेलम्ची आयोजना-२ को काम ढिलाइ हुनुमा मुआब्जा र ठेकेदार कम्पनीको बदमासी भएको उनको भनाइ छ ।

प्रथम चौमासिक प्रगति प्रतिवेदनअनुसार मन्त्रालयको भौतिक प्रगति ६० प्रतिशत र वित्तीय प्रगति ५७.९७ प्रतिशत छ । मन्त्रालयले खुला दिशामुक्त राष्ट्र घोषणालाई शतप्रतिशत सफल मानेको छ तर प्रत्येक घरमा निर्माण भएका शौचालय प्रयोग भएको छ/छैन, त्यसको गुणस्तर र प्रभावबारे अध्ययन भई नसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल आधारभूत खानेपानीको सुविधा पुगेको जनसंख्या ८९.२ प्रतिशत छ । सो संख्या आव ०७६/७७ भित्र ४ प्रतिशत वृद्धि गरी ९२ प्रतिशत पुर्‍याउने लक्ष्य छ । आगामी ३ वर्षमा शतप्रतिशत पुर्‍याउने योजना रहेको प्रवक्ता शाक्यको भनाइ छ ।

ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको प्रगति पनि सन्तोषजनक देखिएको छैन । जसको भौतिक प्रगति ३५ प्रतिशत र वित्तीय प्रगति २०.५९ प्रतिशत छ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको भने अन्य निकायको भन्दा बढी देखिएको छ । जसको भौतिक प्रगति ९७ प्रतिशत र वित्तीय प्रगति ८४ प्रतिशत छ ।

खानेपानी तथा सरसफाइ सह-लगानी कार्यक्रम आयोजनाको भौतिक प्रगति ८५ प्रतिशत र सहरी खानेपानी तथा सरसफाइ आयोजनाको भौतिक प्रगति ७५ प्रतिशत छ । उच्च मध्यमस्तरको खानेपानी सेवाबाट अहिलेसम्म २१ प्रतिशत जनसंख्या लाभान्वित भएकोमा यस वर्ष २५ प्रतिशत पुग्नेछ ।

प्रकाशित मिति : १ पुष २०७६, मंगलवार ०६:३७