फोर्ब्सको बकेट लिस्ट : घुम्नैपर्ने १० देशको सूचीमा नेपाल पहिलो
१ पुस, काठमाडौं । “बाघका पाइला खोज्दै दिनभरि चितवनका जङ्गल चहार्नु अनि बेलुका नारायणी नदी किनारबाट सूर्यास्तको आनन्द लिनु नेपालमा मनै लोभ्याउने अनुभव हो”, चर्चित मिडिया कम्पनी फोर्ब्सले लेखेको छ । “अझ गैँडा र बाघका आवाज सुनेर दुई दिनपछि तपाईं त्यहाँबाट फर्किंदै हुनुहुन्छ भने पक्कै त्यो ठाउँ छाड्न मन लाग्ने छैन ।”

झोले पर्यटन (ब्याग प्याकिङ) मात्र नभई नेपालमा ‘एड्भेन्चर’देखि हरेक किसिमका पर्यटकीय अनुभव गर्न सकिने भन्दै फोब्र्सले नेपालको पर्यटनको विस्तारित रूप प्रस्तुत गरेको हो । नेपाललाई विशेष रूपमा प्रस्तुत गरेको फोब्र्सले यहाँको छिनमै बदलिने मौसमको वर्णन मात्र गरेको छैन, आगामी दशकको सुरुआत (सन् २०२०) मा घुम्नैपर्ने १० देशको सूचीमा नेपाल समावेश गरेको छ, त्यो पनि पहिलो स्थानमा ।
फोर्ब्सले नयाँ दशकका लागि घुम्नुपर्ने देशका रूपमा तयार गरेको ‘बकेट लिस्ट’मा नेपाललाई विशेष रूपमा प्रस्तुत गरेको खबर गोरखापत्र दैनिकमा छ । ‘एडभेन्चर’देखि गुणस्तरीय पर्यटनसँग सम्बन्धित रहेर विश्वका विभिन्न ६ महादेशमध्येबाट फोर्ब्सले १० देश यो सूचीमा राखेको जनाएको छ ।
सूचीमा पहिलो स्थानमा रहेको नेपालबारे रोचक प्रसंग र अनुभव पनि फोर्ब्सले प्रस्तुत गरेको छ । विश्वकै चर्चित ‘एडभेन्चर’ गन्तव्य सगरमाथा भएको देशमात्र होइन, अत्यन्त ‘लक्जरी’ रिसोर्टसमेत भएको स्थानका रूपमा फोर्ब्सले नेपाल चिनाएको छ । काठमाडौँको द्वारिकाज होटलको उदाहरण दिँदै यसलाई जीवन्त संग्रहालयको उपमा पनि दिइएको छ । त्यस्तै चितवन र बर्दियाको सफारी क्याम्पजस्ता अद्भुत अनुभव नेपालमा लिनसक्ने जनाइएको छ ।
न्युयोर्क राज्य बराबरको क्षेत्रफल भएको देशमा पनि फरक किसिमको भौगोलिक विविधताको अनुभव गर्न सकिने फोर्ब्सले उल्लेख गरेको छ । नेपाल घुम्ने उपायबारे थप सुझाव पनि दिइएको छ । फोर्ब्सका अनुसार नेपाल भ्रमण दक्षिणतर्फबाट जंगल सफारी गरेर सुरु गर्दा गज्जबको अनुभूति हुनेछ । हात्तीसँग हिँड्दै चितवनका जंगल घुम्न र नारायणी नदीमा हात्तीले नुहाएको हेर्न पनि सुझाइएको छ ।
यसबाहेक छिनमै बदलिने मौसम अनुभव गर्दै हिमाली क्षेत्रतर्फको ट्रेकिङलाई पनि महत्त्वका साथ गर्नैपर्ने गतिविधिका रूपमा उल्लेख गरेको छ । गाइडसँगै क्याम्पिङ अनुभवका लागि निस्कँदा कोलाहलबाट मुक्तिको अनुभव पाइने पनि उल्लेख छ । त्यस्तै योग र ध्यानका लागि पर्याप्त स्थानको विवरण पनि प्रस्तुत छ ।
फोर्ब्सको यो सूचीमा नेपालपछि दक्षिण अमेरिकी मुलुक इक्वेडर छ । त्यसपछि क्रमशः न्युजिल्यान्ड, पेरु, अलास्का, ब्राजिल, मोरक्को, चीन, फिनल्यान्ड, केन्या छन् ।
प्रकाशित मिति : 06:26







