१४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026

अनिर्णयको बन्दी बन्दै कांग्रेस !

१ पुस, काठमाडौं प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका पछिल्ला हरेक बैठक निर्णयबिनै टुंगिँदै आएका छन् । सभापति शेरबहादुर देउवा बैठक बोलाउने तर उनी इतरका समूह बैठकमा सहभागी नहुँदा केही समययताका कांग्रेस बैठक निर्णयबिनै टुंगिँदै आएका हुन् ।

मिति तोकेरै बोलाइएका हरेकजसो बैठक बस्ने वा नबस्ने टुंगो नहुँदा केन्द्रीय तहको जिम्मेवारीमा रहेका पदाधिकारीसहित सदस्यले समेत हैरानी बेहोर्दै आएको खबर राजधानी दैनिकमा छ । यस्तै, कतिपय बैठक बोलाइए पनि तयारी नपुगेको भन्दै वा थप छलफल गर्नुपर्ने कारण देखाउँदै स्थगित गरिँदै आइएको छ ।

एक केन्द्रीय नेताका अनुसार सोमबार बोलाइएको बैठकमा पार्टी केन्द्रीय कार्यालय सानेपामा केही पदाधिकारी गएनन् । गएका केन्द्रीय सदस्यसमेत बैठक बस्ने-नबस्ने अन्योलका कारण फर्किए ।

कांग्रेसको गत साउनमा बसेको केन्द्रीय समिति बैठकले पार्टीको विधानले व्यवस्था गरेअनुसार अन्तरिम संरचनाको समायोजनको काम सहमतिबाट मंसिरभित्रै टुंग्याउन सहमति गरेको थियो । सो बैठकमा अन्तरिम व्यवस्थाअनुसारको संरचना गठन गरेर महाधिवेशनमा जाने कांग्रेसले शीर्ष सहमतिबाट निर्णय लिएको थियो । कांग्रेसको त्यसयताका हरेकजसो बैठक बिनानिर्णय टुंगिँदै आएका छन् ।

पछिल्लो समय सभापति देउवाले विधानविपरीत पार्टीका रिक्त विभाग गठन गर्ने तयारी गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूह असन्तुष्ट छ । देउवाले विधानमा व्यवस्था भएको २८ विभागलाई बढाएर ४१ वटाको प्रस्ताव गरेका छन् ।

देउवाले गत २६ मंसिरका लागि बोलाएको बैठकअघि नै पटक-पटक बूढानीलकण्ठस्थित निवासमा सोबारे असन्तुष्ट पक्षसँग सहमतिको प्रयास गरे पनि पौडेल पक्ष विभाग गठन गर्न दिने स्थितिमा नपुगेपछि केन्द्रीय समिति बोलाएका थिए । तर, पौडेल पक्षले विधानविपरीत बढाएर विभाग गठन गर्न नदिने र जारी बैठकबाट महाधिवेशनको एजेन्डासहित कार्यतालिका ल्याउनेतर्फ केन्द्रित हुनुपर्ने अडान लिँदै आएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पहिले अन्तरिम संरचना निर्माण गर्ने र त्यसपश्चात् महाधिवेशनको कार्यतालिका ल्याउने पहिले नै शीर्ष तहमा सहमति भएको तर त्यस बीचमा उपनिर्वाचन परेकाले समायोजनको काम नै बाँकी रहेकाले समस्या आएको बताए ।

उनले २ पुसका लागि बोलाएको बैठकमा नेविसंघ, तरुण दल, रिक्त विभागसहित सबै विषयमा सहमति जुट्ने र सोही बैठकबाट सबै विषयमा निर्णय हुने बताए ।

भागबन्डामा बार्गेनिङ
कांग्रेसमा देखिँदै आएको निरन्तरको विवाद समाधानका लागि उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच वार्ता समिति बनाएर गत शनिबारदेखि निरन्तर छलफल भइरहेको छ ।

छलफलमा पौडेल समूहले नेविसंघ र तरुण दलमध्ये कुनै एक संगठनको नेतृत्व आफूले पाउनुपर्ने माग गरेको स्रोतले जनाएको छ । तर, संस्थापन समूह पौडेल समूहलाई नेविसंघ र तरुण दल दुवैको नेतृत्व दिन तयार देखिएको छैन ।

छलफलमा पौडेल समूहबाट सिंहसँगै केन्द्रीय सदस्यहरू दिलेन्द्रप्रसाद बडू र हृदयराम थानी सहभागी हुँदै आएका छन् । संस्थापन पक्षबाट उपसभापति निधिले समन्वय गरिरहेका छन् ।

मिलाउँदै सिटौला
कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीभित्र देखिएका विवाद समाधान गरेर बैठक राख्न आग्रह गरेपछि कांग्रेस बैठक दुई दिनका लागि स्थगित भएको छ । जारी बैठकलाई पौडेल समूहले निरन्तर बहिष्कार गर्दै आएपछि बैठक स्थगित गरेर सहमति खोज्न सभापति देउवालाई नेता सिटौलाले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर आग्रह गरेपछि बैठक दुई दिनका लागि स्थगित गरिएको हो ।

वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायतका केन्द्रीय सदस्यले बिहीबार, आइतबार र सोमबारका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेका थिए । नेता सिटौलाको आग्रहपछि बैठक २ पुससम्मका लागि स्थगित भएको छ ।

प्रकाशित मिति : 06:15