१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

बेलायतमा आम-चुनाव : सत्तारुढ कन्जर्भेटिभलाई प्रस्ट बहुमत

२८ मंसिर, काठमाडौं बेलायतमा सम्पन्न आम-चुनावमा सत्तारुढ कन्जर्भेटिभ पार्टीले स्पष्ट बहुमत ल्याएको छ । ६ सय ५० सिट रहेको संसद्मा कन्जर्भेटिभ पार्टीले ३ सय ६४ सिटमा जित हासिल गरेको हो । यो नतिजा गत निर्वाचनभन्दा ४७ सिटले बढी हो ।

कन्जर्भेटिभ पार्टीले सन् १९८७ पछि पहिलोपटक यति धेरै सिटमा जित हात पारेको हो । चुनावमा विपक्षी लेबर पार्टी २ सय ३ सिटमा सीमित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । विपक्षी दलले ५९ सिट गुमाएको छ ।

चुनावी नतिजा सार्वजनिक भएसँगै प्रधानमन्त्री बोरिस जोनसनले आफूले नयाँ जनादेश पाएको जनाएका छन् । उनले अब बेलायतलाई एकजुट गर्न सकिने र युरोपेली संघबाट बाहिर निस्कने सहमति लागू गर्न सहज हुने प्रतिक्रिया दिए ।

जोनसन गत जुलाईमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । पछिल्लो समय उनी ब्रेग्जिटलाई कसरी सफल बनाउने भन्नेमै ध्यान केन्द्रित गरिरहेका थिए ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार ०९:५२