राष्ट्रियसभा निर्वाचन : पुस ६ भित्र दल दर्ताको आह्वान

२८ मंसिर, काठमाडौं । राष्ट्रियसभा सदस्य चुनावका लागि दल दर्ता गर्न निर्वाचन आयोगले आह्वान गरेको छ । आयोगले पुस ६ गतेभित्र दल दर्ताका लागि आह्वान गरेको हो ।
राष्ट्रियसभाका १८ सदस्यका लागि माघ माघ ९ मा चुनाव हुने भएको छ । संविधानको धारा २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम निर्वाचन आयोगमा दर्ता कायम रहेका दलहरुलाई राष्ट्रियसभा सदस्य निर्वाचनका लागि संविधानको धारा २७१ तथा रानीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम मंसिर २७ बाट पुस ६ गतेसम्म दल दर्ताका लागि आह्वान गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जनाएका छन् ।
राष्ट्रियसभा सदस्य चुनावमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगर, उपमहानगर तथा महानगरपालिकाका प्रमुख र उपप्रमुख र प्रदेशसभा सदस्यहरुले मतदान गर्न पाउनेछन् ।
राष्ट्रियसभाको उम्मेदवार बन्न अन्तिम मतदाता नामावलीमा नाम दर्ता भएको र संविधानले तोकेबमोजिम योग्यता भएको नेपाली नागरिक हुनुपर्नेछ । यसअघि दर्ता भएका वा नभएका दलहरुले चुनावमा सहभागी हुन चाहे आवश्यक कागजातसहित आयोगमा निवदेन दिन सकिनेछ ।
राष्ट्रियसभा सदस्य चुनावमा सहभागी हुन दर्ता हुने पुराना दलले गत वर्षको लेखा परीक्षण प्रतिवेदन पेस गर्नुपर्नेछ ।
प्रकाशित मिति : 09:41







