१४ पुष २०८२, सोमबार | Mon Dec 29 2025

कानुन नबन्दा पानीजहाज चलाउन ढिलाइ

२८ मंसिर, काठमाडौं नेपालका नदीहरूमा पानीजहाज चलाउने कार्यलाई मूर्तरूप दिने उद्देश्यसहित सरकारले स्थापना गरेको नेपाल पानीजहाज कार्यालय सुरु भएको एक वर्ष बितेको छ  । सरकारले ललितपुरको एकान्तकुनास्थित कार्यालय थालनी गरेसँगै यहाँको नदी र समुद्रमा नेपाली झण्डावाहक पानीजहाज चलाउने पाँच दशक पुरानो धोको पूरा गर्ने आशा राखिए पनि आवश्यक कानुन बन्ने क्रममा रहेकाले केही ढिलो भएको छ  ।

सांकेतिक तस्बिर ।

कार्यालय उद्घाटन भएको एक वर्षको अवधिमा कार्यालयमा आवश्यक कर्मचारी र जनशक्तिको व्यवस्थापनले पूर्णता पाएको छैन  । कार्यालयले यस अवधिमा नयाँ पानीजहाज सञ्चालन ऐन तथा नियमावलीको मस्यौदा निर्माणको काम भने अगाडि बढाइसकेको खबर गोरखापत्र दैनिकमा छ । २०७५ माघ ३ को मन्त्रिपरिषद् बैठकले पानीजहाज कार्यालय खोल्ने निर्णय गरेको थियो  । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २ गते नेपाल पानीजहाज कार्यालयको उद्घाटन गरेका थिए ।

नेपाल पानीजहाज कार्यालयका रजिस्ट्रार विपिन राजभण्डारीले आवश्यक ऐन कानुनको अभावमा पानीजहाज सञ्चालनसम्बन्धी काम अगाडि बढ्न नसकेको बताए । उनले भने, ‘अहिले भएका ऐन पुराना छन्, त्यस ऐन कानुनबाट काम हुने नभएर अहिले नयाँ ऐनको मस्यौदाको तयारी अन्तिम चरणमा छ  ।’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव प्रमिला वज्राचार्यको संयोजकत्वमा गठित समितिले सो मस्यौदालाई अन्तिम रूप दिने कार्य गरिरहेको जनाइएको छ  ।

चालू आवमा पानीजहाज शीर्षक तथा कार्यालयका लागि ९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ  । त्यसैगरी नेपालका नदीहरूमा पानीजहाज सञ्चालनका लागि आन्तरिक जलयानसम्बन्धी नियमावलीसमेत तयार भइरहेको जानकारी रजिस्ट्रार राजभण्डारीले दिए ।

अध्ययनको तयारी गरिँदै
नेपालका ५ नदीमा जलयान सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिने तयारी भइरहेको राजभण्डारीले जानकारी दिए । कालीगण्डकी, त्रिशूली, अरुण, सुनकोसी र नारायणी नदीमा अध्ययन गर्ने कार्यालयको तयारी छ ।

उनका अनुसार कालीगण्डकी र सुनकोसीमा पुसदेखि नै अध्ययन सुरु गरिने तयारी छ भने बाँकी नदीमा चालू आवभित्रै अध्ययन सुरु गरिनेछ  । यस प्रकारका अध्ययनले ती नदीहरूमा पानीजहाज सञ्चालनको ‘रुट’ तय गरिनेछ ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार ०७:१९