राष्ट्रियसभाको चुनाव ९ माघमा हुने
२६ मंसिर, काठमाडौँ । राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते हुने भएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्काेटाले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा माघ ९ गते निर्वाचन गर्ने निर्णय गरेको जानकारी दिएका हुन् । फागुन २१ मा राष्ट्रियसभाका नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका १ जना र सरकारबाट मनोनित १ जना गरी १९ सांसदको २ वर्षे कार्यकाल सकिँदैछ । संविधानअनुसार सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन भइसक्नुपर्ने भएकाले सरकारले माघ ९ गते चुनाव घोषणा गरेको हो ।

नेकपाबाट कमलाकुमारी ओली, बलराम बास्कोटा, हरिचरण शिवाकोटी, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कालिबहादुर मल्ल र खेमराज नेपालीको कार्यकाल सकिँदैछ । त्यस्तै कांग्रेसबाट राष्ट्रिय सभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईं, विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रपसाद उपाध्याय र धनकुमारी खतिवडाको कार्यकाल सकिँदैछ ।
यसैगरी राजपाका रमेशप्रसाद यादव र वृशेषचन्द्र लाल तथा समाजवादीका रामप्रित पासवानको पनि २ वर्षको कार्यकाल सकिँदैछ । यस्तै, सरकारबाट मनोनित भएका अर्थमन्त्री युवराज खतिवडाको पनि कार्यकाल पूरा हुँदैछ ।
प्रकाशित मिति : 16:33









