१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

२६ मंसिर, काठमाडौं ३ वर्षअघि नेपालमा सुरु भएको चौथो पुस्ताको फोरजी प्रविधिको प्रयोग अहिले विस्तार हुँदै गएको छ । दूरसञ्चार सेवा प्रदायकले फोरजीलाई केन्द्रित गर्दै सेवा विस्तार गर्न थालेपछि फोरजीमा आकर्षण बढेको पाइएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको भदौसम्मको तथ्यांकअनुसार देशभर ४३ लाख ५५ हजारले फोरजी प्रयोग गर्छन् । थ्रीजीको तुलनामा उच्च गतिको इन्टरनेट र भिडियोसमेत हेर्न उपयोगी हुने भएपछि पछिल्लो समय फोरजीका ग्राहक थपिँदै गएको खबर गोरखापत्र दैनिकमा छ ।

संख्यात्मक हिसाबले एनसेलका फोरजी प्रयोगकर्ता निकै धेरै छन् । प्राधिकरणका अनुसार एनसेलका मात्रै ३२ लाख ९२ हजार प्रयोगकर्ता छन् । नेपालमै पहिलोपटक फोरजी सेवा सुरु गरेको नेपाल टेलिकमका भने ८ लाख ३४ हजार प्रयोगकर्ता छन् । त्यस्तै सबैभन्दा पछि फोरजी सेवा सुरु गरेको स्मार्ट टेलिकमका भने २ लाख २७ हजार फोरजी प्रयोगकर्ता छन् । अहिले तीनवटै सेवा प्रदायकले १८ सय मेगाहर्ज ब्यान्डमा प्रविधि तटस्थताको आधारमा उपलब्ध फ्रिक्वेन्सी प्रयोग गरेर फोरजी सेवा उपलब्ध गराइरहेका छन् ।

एनसेलले देशका मुख्य सहरमा फोरजी सेवा विस्तार गर्ने लक्ष्यअनुसार चार दर्जनभन्दा बढी सहरमा यो सुविधा उपलब्ध गराएको जनाएको छ । नेपाल टेलिकमले देशैभर फोरजी सेवा विस्तार गर्ने लक्ष्यसहित गत माघ २० गतेदेखि काम अगाडि बढाएको थियो । टेलिकमका अनुसार पछिल्लो समय ५० भन्दा बढी जिल्लामा फोरजी नेटवर्क विस्तार भइसकेको छ । टेलिकमले असोज १५ गते एक औपचारिक कार्यक्रम आयोजना गर्दै देशका ६० ठाउँमा एकैपटक फोरजी सेवा विस्तार गरेको जनाएको थियो । प्राधिकरणको पछिल्लो तथ्याक भदौसम्मको मात्र भएकाले असोजको तथ्यांक यसमा समेटिएको छैन । टेलिकमले करिब २० अर्ब लगानी गरी १ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको फोरजी नेटवर्क विस्तार परियोजनाबाट ६५ लाख ग्राहक थप हुने जनाएको छ ।

निजी क्षेत्रको अर्को सेवा प्रदायक स्मार्ट सेलले भने लगानी अभावमा फोरजी सेवा विस्तार गर्न सकिरहेको छैन । प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता तोकिएको अन्तिम समयमा पनि नबुझाएपछि कम्पनीको लाइसेन्स खारेजीमा परेको थियो । आफ्नो लाइसेन्स जोगाउन सरकारसमक्ष पुनरवेदनमा गएकोमा स्मार्टको उक्त निवेदन अहिले मन्त्रिपरिषद्को समितिमा छलफलको क्रममा छ । प्राधिकरणको तथ्यांकअनुसार विगत १ वर्षको अवधिमा मात्रै २३ लाखभन्दा बढी फोरजी ग्राहक थपिएका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार ०८:२२