विधान संशोधन लगाएत नेकपा सचिवालय बैठकका यस्ता छन् निर्णय
२३ मंसिर, काठमाडाैँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटीको बैठक बोलाएको छ। सोमबार पार्टी मुख्यालय धुम्बाराहीमा बसेको सचिवालय बैठकले मंसिर २९ गतेका लागि स्थायी कमिटी बैठक बोलाएको हो। नेकपाको स्थायी समितिको बैठक दुईदिनमै टुंग्याउनेगरी बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

नेकपा सचिवालय बैठकका निर्णयहरू यस्ता छन् :
यसभन्दा अगाडि बसेको स्थायी कमिटी बैठकको निर्देशनलाई मान्दै पार्टी विधानमा केही संशोधन गर्ने सन्दर्भमा स्थायी कमिटीको निर्देशन र यसअघि सचिवालय बैठकमा नै भएका निर्णयलाई आधार मानेर संशोधन प्रस्ताव तयार गर्ने ।
हालै सम्पन्न उपनिर्वाचन समीक्षाका क्रममा २२ गतेभित्र रिपोर्ट पठाउन भनिएकोमा केही कमिटीबाट रिपोर्ट अझै पनि प्राप्त नभएकाले ५ दिनभित्र सबै कमिटीले अनिवार्यरूपमा रिपोर्ट पठाउनुपर्ने र सचिवालयको अर्को बैठकमा महासचिवले ती रिपोर्टहरू पेश गर्ने ।
संगठन विभागले विभागको तहबाट एक कार्ययोजनासम्बन्धी प्रस्ताव बैठकमा पेश गरेको छ । यसबारे पार्टी अध्यक्षलाई सुझावहरू पेश गर्ने र त्यसबारे संगठन विभागसँग समेत छलफल गरी अर्को बैठकमा अध्यक्षले निर्णयार्थ पेश गर्ने ।
विभिन्न जिल्लामा संगठनात्मक क्षेत्रमा देखिएको समस्याबारे आवश्यक छानबिन र समाधान गर्न संगठन विभागलाई जिम्मेवारी दिने ।
केन्द्रीय विभागहरूको पूर्णताका निम्ति सम्बन्धित विभागका प्रमुख र उपप्रमुखले ७ दिनभित्र महासचिवमार्फत प्रस्ताव प्रस्तुत गर्ने र आगामी बैठकले विभागहरूलाई पूर्णता दिने ।
पार्टीका कर्णाली प्रदेश कमिटी सचिव मायाप्रसाद शर्माले दिएको राजीनामा अस्वीकार गर्ने र यथावत काममा फर्किन निर्देशन दिने । पार्टी सचिवालयको आगामी बैठक यही मंसिर २७ गते अपराह्न बस्ने ।
पार्टीको स्थायी कमिटी बैठक यही मंसिर २९ गते बिहान ११ बजेबाट शुरू हुनेगरी तय गरिएको छ । उक्त बैठक सामान्यतया २ दिनमा सम्पन्न गर्ने ।
प्रकाशित मिति : 17:32







