१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

नरसंहारको मुद्दा परेपछि हेगतर्फ लागिन् सुकी

२३ मंसिर, काठमाडौं म्यानमारमा जातीय र धार्मिक हिंसाको आरोप खेपिरहेकी नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकी अन्तर्राष्ट्रिय अदालत (हेग) का लागि प्रस्थान गरेकी छन् । अल्पसंख्यक रोहिंग्या मुस्लिम समुदायमाथि भएको अत्याचारमा सुकीको भूमिकालाई लिएर विश्वभरबाट आलोचना हुँदै आएको थियो ।

हिंसा रोक्न र अल्पसंख्यकहरुको सुरक्षामा ध्यान नदिएको भन्दै उनीविरुद्ध नेदरल्यान्डस्थित संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय अदालतमा मुद्दा परेपछि उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

सन् २०१७ मा म्यानमारमा अल्पसंख्यक रोहिंग्या समुदायमाथि रखाइन् प्रान्तमा त्यहाँका रैथाने बौद्ध धर्मावलम्बीले गरेको अत्याचारमा सरकारले रोहिंग्यालाई साथ दिनुको साटो उल्टो दमन गरेको थियो ।

त्यसपछि त्यहाँबाट ठूलो संख्यामा रोहिंग्याहरु बंगलादेशलगायत मुलुकमा शरण लिन पुगेका थिए । संयुक्त राष्ट्र संघले उक्त घटनाको अनुसन्धान गरेपछि सरकार र सुकी दोषी रहेको प्रतिवेदन बुझाएको थियो । उनीविरुद्धको मुद्दाको सुनुवाइ आगामी १० देखि १२ डिसेम्बरसम्म हुनेछ । -एजेन्सी

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार ०६:५५