समाजवादीमा नयाँ शक्ति र फोरम खेमाबीच मनमुटाव
२२ मंसिर, काठमाडौं । पार्टी एकीकरणको ८ महिना पूरा नहुँदै समाजवादी पार्टीमा पूर्व नयाँ शक्ति र पूर्वसंघीय समाजवादी फोरम नेपालका नेताबीच गम्भीर मनमुटाव सुरु भएको छ । विवाद उपनिर्वाचनको परिणामपछि उत्कर्षमा पुगेको हो ।
तत्कालीन नयाँ शक्ति र तत्कालीन फोरमबीच एकीकरणपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग पार्टीको सम्बन्ध बिग्रदै गएको पूर्व फोरमका नेताहरूको बुझाइ रहेको खबर नागरिक दैनिकमा छ । केही दिनअघि प्रधानन्त्रीले समाजवादी पार्टीलाई नसोधी अपमानजक किसिमले मन्त्रिमण्डल पुनर्गठन गरेकोमा यसको जिम्मेवार पूर्व नयाँ शक्ति पार्टीका नेता, त्यसमा पनि नयाँ शक्ति पार्टीका राष्ट्रिय परिषद्का अध्यक्ष बाबुराम भट्टराई रहेको पूर्व फोरमका एक पदाधिकारीले बताए । ती पदाधिकारीले भने, ‘नयाँ शक्ति र फोरम नेपालबीच एकीकरण हुनुअघि प्रधानमन्त्रीले हाम्रा अध्यक्ष (उपेन्द्र यादव) लाई सबैभन्दा बढी विश्वास गर्नुहुन्थ्यो । हामीले हाम्रो रोजाइमा मन्त्रालय पायौं । तर बाबुरामजीको आगमनपछि प्रधानमन्त्रीसँग हाम्रो पार्टीको सम्बन्ध यसरी बिग्रँदै गयो कि, यसको परिणाम केही दिन प्रधानमन्त्रीले गरेको मन्त्रिमण्डल पुनर्गठनमा प्रस्ट देखियो ।’

वैशाख २८ मा बसेको पार्टी केन्द्रीय समिति बैठकमा राजनीति प्रतिवेदन प्रस्तुत गर्दै भट्टराईले प्रधानमन्त्री ओलीको निकै कडा आलोचना गरेका थिए । उनले प्रधानमन्त्रीलाई गफास्टक भन्दै ठाउँठाउँमा व्यंग्य गरेका थिए । सरकार असफल भएको उनले निष्कर्ष निकालेका थिए । समाजवादी पार्टीको सो प्रतिवेदनपछि समाजवादी पार्टीसँग प्रधानन्त्री सशंकित भएको स्रोतले बतायो ।
भट्टराईले प्रस्तुत गरेको प्रतिवेदनमा सरकारको नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीलाई उठ्नै नसक्ने गरी समाप्तिको बाटोमा लागेको ठोकुवा गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई भने भट्टराईले त्यति कडा आलेचना गरेनन् । राजनीतिक प्रतिवेदनमा भट्टराईले सरकारमा पार्टीको संलग्नताबारे तत्काल पुनर्समीक्षा गर्ने बताएका थिए । यद्यपि सो बैठकले सरकार छाड्ने निर्णय भने गरेन तर भट्टराईको प्रतिवेदनपछि पार्टी र प्रधानमन्त्रीबीचको सम्बन्ध बिग्रन थाल्यो,’ फोरमका अर्का एक नेताको विश्लेषण छ ।
प्रकाशित मिति : 08:21







