१४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026

लोकमानको पालाका ‘गुप्तचर’हरू अझै अख्तियारमै !

२२ मंसिर, काठमाडौं राष्ट्रिय अनुसन्धान विभाग मातहतका कार्यालयका सबै कर्मचारी दुई/दुई वर्षको कार्यकाल सकेर फिर्ता भइसक्दा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएका गुप्तचरहरू अझै गएका छैनन् । उनीहरू अख्तियारका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्कीको पालादेखि अख्तियारमा डगमगाएर बसिरहेको बुझिएको छ ।

‘कर्मचारीलाई राहत होस् भन्दै तलबबाहेक अन्य सेवा सुविधा आउने कार्यालयमा ६/६ महिनामा फर्किने गरी कर्मचारी खटाउन गुप्तचरभित्र आचारसंहिता नै बनाइएको छ’, स्रोतले भन्यो, ‘तर चिफ सापहरूसामु यस्ता आचारसंहिताको अनुगमन हुने कुरै भएन । यस्ता कार्यालयमा आफ्नालाई नै बढी जोड दिइन्छ ।’

आयोगमा भ्रष्टाचारविरुद्धको उजुरीमाथि हुने अनुसन्धानलाई सहयोग गर्न राष्ट्रिय अनुसन्धान विभागका विभिन्न तहका गुप्तचरहरू पठाउने चलन छ । तर उनीहरूलाई त्यो कामभन्दा मन्त्री, गृह मन्त्रालयका पदाधिकारी, गुप्तचर प्रमुखविरुद्ध भ्रष्टाचारका मुद्दा परेको/नपरेको, परेको भए कसले कुन विषयमा गरेको हो, जस्ता विषयको सूचना दिन लगाइने गरेको पाइएको छ ।

उक्त सूचनाले उजुरीकर्तालाई भेटेर प्रभावमा पारी उजुरी फिर्ता लिन वा उजुरीउपरको अनुसन्धान कमजोर पार्न यसरी गुप्त सञ्जाल परिचालित गरिएको स्रोतलाई उद्धृत गर्दै नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

विभागले यस्तो काम गर्न भन्दै नियमित प्रक्रियाअनुसार पठाएका उप-अनुसन्धान निर्देशक हुमाकान्त पाण्डे, उपअनुसन्धान निर्देशक लक्ष्मी पौडेल, अनुसन्धान अधिकृत पवन पाण्डे र असई किशोर धानुकबाहेक अरू फिर्ता भएका छैनन् ।

विभागले उनीहरूलाई झन्डै ५ वर्षअघि अख्तियार पठाएको हो । उपअनुसन्धान निर्देशक हुमाकान्त पाण्डे र अनुसन्धान अधिकृत पवन पाण्डे गुप्तचरका पूर्वप्रमुख दिलीप रेग्मीका आफ्नै सालाहरू हुन् । गुप्तचरका लागि तलब बराबरको भत्ता आउने अड्डाका रूपमा लिइने अख्तियारमा अरूलाई मौकासमेत नदिई तिनीहरू बसिरहेका छन् ।

प्रकाशित मिति : 07:57