१४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026

जनताको आशा र भरोसा टुट्न दिनेछैनः भट्टराई

१६ मंसिर, चिप्लेढुङ्गा । प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा उम्मेदवार विद्या भट्टराईले जनताले आफूमाथि गरेको आशा र भरोसालाई टुट्न नदिइने बताउनुभएको छ । मङ्सिर १४ गते सम्पन्न कास्की क्षेत्र नं २ को उपनिर्वाचन परिणामपछि विजयको प्रमाणपत्र ग्रहण गरेसँगै आइतबार साँझ पत्रकारसँग कुरा गर्दै उहाँले जनताले जुन उत्साहका साथ मतदान गरेर जिताउनुभयो अबको बाँकी समय तिनकै सेवक भएर बिताउँछु भन्नुभयोे ।“राजनीतिमा अझै पनि धेरै चुनौती छन्, राजनीतिक संस्कारको अभााव छ । युवामा राजनीतिप्रतिको विश्वास गुमेको छ।

अबको राजनीतिले नयाँ पुस्ताको रुचिलाई सम्बोधन गर्न सक्नुपर्छ, जनताको चाहनालाई सुनुवाइ गर्नुपर्छ”, प्राध्यापन पेशाबाट राजनीतिमा फर्कनुभएका उहाँले भन्नुभयो । उपनिर्वाचनमा मतदाताले समुद्ध नेपाल सुखी नेपालीका अभियानकर्मी आफ्ना जीवनसाथी रवीन्द्रप्रसाद अधिकारीको पनि सम्मान गरेको बताउनुभयो । भट्टराई उहाँले आइतबार पोखरा महानगरपालिका–२० मा श्रमिकको बाटो निर्माण क्रममा पुरिएर मृत्यु भएको घटनाले आफूलाई निकै दुःखी बनाएको छ भन्दै मृतक मजदूरप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

अनेरास्ववियुका सचिवसम्म रहनुभएका भट्टराईले प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार खेमराज पौडेलले आफूलाई बधाई दिएर देखाएको राजनीतिक संस्कारप्रति पनि धन्यवाद दिनुभयो । नेकपाका नेता तथा भट्टराईका पति तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीको गत वर्ष फागुन १५ गते हवाई दुर्घटनामा निधन भएपछि कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि पुनः निर्वाचन भएको थियो ।
कास्कीमा क्षेत्र नं २ मा ७१ हजार ८७१ मतदाता रहेकामा ४५ हजार ५६३ मत खसेको थियो । भट्टराईले २४ हजार ३९४ र उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका पौडेलले १५ हजार ९९१ मत प्राप्त गर्नुभएको थियो । आठ हजार ४०३ को मतान्तरले भट्टराई प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

प्रकाशित मिति : 10:15