१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

सबै कागजात पूरा गरेर पनि बैंकले सहुलितय कर्जा नदिए आफूलाई खबर गर्न अर्थमन्त्रीकाे आग्रह

११ मंसिर, काठमाडाैँ । अर्थमन्त्री युवराज खतिवडाले सहुलियतपूर्ण कर्जा बैंकले नदिए आफूलाई खबर गर्न आग्रह गर्नुभएको छ । राष्ट्रिय युवा परिषद्ले आज यहाँ आयोजना गरेको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि–२०७६ को प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड र कृषि विकास बैंकसँगको सम्झौता घोषणासभा तथा पत्रकार सम्मेलनमा उहाँले सहुलियतपूर्ण कर्जा प्रवाह नगर्ने बैंकमाथि एक्शन लिइने बताउनुभयो ।

परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय बीच संशोधन गरिएको कार्यविधि प्रभावकारी कार्यान्वयन गर्नेमा सम्झौता भएको हो । सम्झौताअनुसार अब ती तीन बैंकले आफ्ना देशभरिका शाखाबाट युवालाई स्वरोजगार बनाउनका लागि पाँचदेखि सात प्रतिशत ब्याजदरमा सहुलितयपूर्ण कर्जा गर्नेछन् ।

मन्त्री खतिवडाले कर्जाको सुरक्षण सरकारले सुरक्षित गरेको हुनाले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ । “बैंकमा राखिएको पैसा उद्यमशीलता बन्ने नागरिकमाथि लगानी गर्नु पर्दछ हो, त्यसमा बिना हिचकिचावट तपाईंहरुले कर्जा प्रवाह गर्नुपर्दछ, त्यति गरेर पनि बैंकले दायाँबायाँ गर्नुभयो भने हामीसँग हटलाइनको पनि व्यवस्था हुन्छ”, उहाँले भन्नुभयो, “तपार्इंले मेरो इमेलमा लेखेर पठाउनु होला, मैले सबै कागजात पूरा गरी ऋण पाएन भनेर खबर गरे हामी बैंकमाथि एक्शन लिन्छौँ ।”

उहाँले कतिपयले ऋण पाएन भनेर पनि इमेल लेखेर पनि पठाएको र त्यसको आफूले ‘फलोअप’समेत गरिरहेको बताउनुभयो । उहाँले बैंंकले कर्जा प्रवाह नगरे आफ्नो ‘अफिसियल’ इमेलमा पनि लेखेर पठाउनसमेत आग्रह गर्नुभएको छ । मन्त्री खतिवडाले युवा परिचालन वर्षलाई आर्थिक रुपान्तरणसँग जोड्न पनि सहुलियपूर्ण कर्जा प्रवाहमार्फत युवालाई स्वरोजगार बनाउन लागिएको बताउनुभयो ।

उहाँले अहिले प्रदान गरिने अनुदानलाई पुनरावलोकन गर्दै कृषि उत्पादनको साधनमा मात्र अनुदान दिने तयारी गरिएको बताउनुभयो । उहाँले युवाले अहिले पनि जोखिम उठाउन आँट गर्न नसकेको भन्दै अब युवालाई तालिम, प्रशिक्षण दिएर सिर्जनशीप सिकाएर उद्यमशील बन्न आँट बनाइने बताउनुभयो ।

“अहिले युवाले उद्यमशीलता बन्ने आँट गरेका छैनन्, ज्ञान भएर पनि रोजगारी पाउन सकेका छैनन्”, उहाँले भन्नुभयो, “विद्यालय शिक्षादेखि सबै सीप विकास शिक्षा, प्राविधिक र व्यावसायिक शिक्षा दिनुपर्दछ, सीपले उद्यमशीलता गर्नका लागि जोखिम उठाउन तयार गराउँदछ ।”

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष ढुङ्गेलले स्वदेशमा नै युवा स्वरोजगार हुन भन्नका लागि सहुलियतपूर्ण कर्जा वितरण गरिएको बताउनुभयो । उहाँले कार्यविधि संशोधन भएकाले बैंक र युवालाई लिनदिन सहज भएको बताउनुभयो ।

युवा तथा खेलकूद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सहुलियपूर्ण कर्जा प्रवाहले युवालाई आफ्नो गाउँठाउँमा बसेर स्वरोजगार बनाउन मद्दत गर्ने बताउनुभयो । उहाँले बैंक सरकारी सेवामा मात्र लागेको आफूले देखेको भन्दै आफ्नो सेवाबारे जानकारी गराउनुपर्ने बताउनुभयो ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले युवाले स्तरीय परियोजना बनाएर नल्याउँदा कर्जा प्रवाहमा समस्या रहेको भन्दै परियोजना बनाउन सिकाउनुपर्ने बताउनुभयो । उहाँका अनुसार बैंकले अहिलेसम्म छ हजार ३१४ युवालाई रु छ अर्ब ८१ करोड ६० लाख कर्जा प्रवाह गरिसकेको छ ।

नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अधिकारीले युवालाई मुलुकमै स्वरोजगारी बनाउने सरकारले ल्याएको परियोजनामा साथ दिने बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म तीन हजार १६१ लाई करिब रु दुई अर्ब १० करोड कर्जा प्रवाह गरिएको छ ।

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले कार्यविधि अन्यौल र कर्मचारीको सोचमा परिवर्तन नआएको कर्जा प्रवाहमा कठिनाइ भएको बताउनुभयो । उहाँले संशोधन गरिएको कार्यविधिअनुसार युवालाई उद्यमशीलता बनाउन प्रोत्साहन गर्नका लागि कर्जा प्रवाहलाई सरल बनाइने बताउनुभयो । उहाँका अनुसार बैंकले अहिलेसम्म रु साढे चार अर्ब लगानी गरेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार २०:०८