१३ बैशाख २०८३, आइतबार | Mon Apr 27 2026

अन्तिम दौडधुपमा नेता, आज रातिदेखि मौन अवधि

११ मंसिर, काठमाडौं । जनमत परीक्षणका रूपमा लिइएको उपनिर्वाचन परिणाम आफ्नो पक्षमा पार्न प्रमुख दलका शीर्ष नेताहरू अन्तिम दौडधुपमा छन् । बुधबार रातिदेखि मौन अवधि सुरु हुनेछ । सत्तासीन नेकपा र विपक्षी कांग्रेसका शीर्ष नेता चुनावी सभा सम्पन्न गरी राजधानी फर्केका छन् ।

कास्की २ को प्रतिनिधिसभा, ३ वटा प्रदेशसभा र स्थानीय तहका गरी ५२ पदका लागि मंसिर १४ गते उपनिर्वाचन हुँदै छ । दलहरूले बुधबार भक्तपुरमा अन्तिम चुनावी सभा राखेका छन् । नेकपाको चुनावी सभालाई अध्यक्ष पुष्पकमल दाहाल र नेता सुवास नेम्वाङले सम्बोधन गर्ने कार्यक्रम छ । यस्तै उपत्यकाबाहिरका चुनावी सभा सम्पन्न गरी मंगलबार काठमाडौं फर्केका कांग्रेस सभापति शेरबहादुर देउवाले पनि बुधबार भक्तपुरमा पार्टीको चुनावी सभामा सम्बोधन गर्नेछन् । देउवाले पोखरा, बागलुङ, दाङ र धरानका चुनावी सभालाई सम्बोधन गरेका थिए ।

भक्तपुरमा कांग्रेस र राप्रपा (संयुक्त) को संयुक्त चुनावी सभा छ । सभामा राप्रपा संयुक्तका अध्यक्ष पशुपतिशमशेर राणाले सम्बोधन गर्दै छन् ।

उपनिर्वाचनलाई दुई तिहाइको नेकपा सरकारले जनभावना बुझ्न र विपक्षी कांग्रेसले जनता मन फर्केको वा नफर्केको बुझ्न खोजेको छ । वडाअध्यक्ष तहसम्मको चुनावलाई प्रभाव पार्न प्रमुख दलका वरिष्ठ नेताहरु नै खटिएका छन् । अछामको मेल्लेख गाउँपालिकाको वडा ५ को अध्यक्षका लागि हुने चुनावी सभालाई नेकपाका नेता भीम रावलले सम्बोधन गरे । उक्त वडाको चुनावी सभालाई कांग्रेसका एनपी साउदले पनि सम्बोधन गरेका थिए । कास्की २, भक्तपुर १ (१), बागलुङ २ (२ ) र दाङ ३ (२) मा नेकपा अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गरेको अन्नपूर्ण पोस्टमा खबर छ ।

निर्वाचन आयोगका अनुसार स्थानीय तहअन्र्तगत उपमहानगर प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाअध्यक्ष ४३ पदका लागि पनि उपनिर्वाचन हुँदै छ ।

उपननिर्वाचनमा १ सय १ दलले भाग लिँदै छन् । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यमा ९५ दल र स्थानीय तहमा ७८ दलले भाग लिएका छन् । ०७४ को निर्वाचनपछि थपिएका १६ हजार २ सय १९ मतदाताले उपनिर्वाचनमा मतदान गर्न पाउनेछन् । आयोगका अनुसार उपनिर्वाचनमा मतदाताको संख्या ४ लाख ५४ हजार १ सय १४ छ । मतदानका लागि २ सय ४७ मतदान स्थल र ५ सय ३७ मतदान केन्द्र तोकिएका छन् । शीर्ष नेताहरू चुनावी दौडधुपमा सक्रिय भए पनि यसपटक आचारसंहिता उल्लंघनका उजुरी नपरेको निर्वाचन आयोगले जनाएको छ ।

आयोग प्रवक्ता नरेन्द्र दाहाल स्थानीय तहमा राजनीतिक दलका नेतासमेत राखेर आचारसंहिता अनुगमन समिति बनाइएकाले पनि आचारसंहिता उल्लंघनका घटनामा कमी आएको बताउँछन् ।

सुरक्षाको सबै प्रबन्ध : आयोग
निर्वाचन आयोगले सुरक्षासहित निर्वाचनसम्बन्धी सम्पूर्ण तयारी पूरा भएको भन्दै ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ । आयोग प्रवक्ता नरेन्द्र दाहालले बिहीबारभित्र उपनिर्वाचन हुने सबै स्थानमा मतपत्र, परिचयपत्रसहित सबै सामग्री बोकेर मतदान अधिकृत पुग्ने बताए । ‘अब हामी मतदान पर्खेर बसेका छौं,’ दाहालले भने, ‘मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुन आयोगले आग्रह गरिसकेको छ ।’ बुधबार राति १२ बजे मौन अवधि सुरु हुने भएकाले उक्त अवधिलाई निकै संवेदनशील रुपमा लिइएको दाहालले बताए ।

प्रकाशित मिति : 07:17