१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

११ मंसिर, ताप्लेजुङ यस वर्ष राम्रो मूल्य नपाएपछि यहाँका किसान अलैंची गोदाममै थन्क्याउन बाध्य भएका छन् । अलैंचीको भने जस्तो मूल्य नआएको र गएका वर्षहरूमा जस्तो यस वर्ष माग पनि नआएकाले हालसम्म जिल्लाका किसान तथा व्यवसायीको गोदाममै थन्किएको हो ।

जिल्लाको प्रमुख नगदेबालीका रूपमा रहेको अलैंचीको मूल्य करिब डेढ महिनासम्म प्रतिमन (४० किलोग्राम) २५ हजार रुपैयाँमा स्थिर रहेकामा सोमबारदेखि पुनः ओरालो लागेको गोरखापत्र दैनिकमा खबर छ । लामो समयसम्म अलैंचीको मूल्यस्थिर रहेका कारण मूल्यमा उतारचढाव आउँदा बढेर आउने स्थानीय किसान तथा व्यवसायीले अपेक्षा गरेका थिए तर अपेक्षा विपरीत झनै मूल्य घटेकाले किसान तथा व्यवसायीमा निरासा छाएको छ ।

दुई दिन अर्थात् सोमबारदेखि स्थानीय बजारमा प्रतिमन २४ हजार रुपैयाँले कारोबार भइरहेको व्यवसायीले बताएका छन् । सोमबारअघि करिब डेढ महिनासम्म मूल्य स्थिर रहेकाले सो अवधिमा कारोबार शून्यजस्तै भएको र न्युन मूल्यका कारण अलैंची गोदाममै थन्क्याएर राख्नुपरेको स्थानीय किसान तथा व्यवसायी बताउँछन् ।

सदरमुकाम फुङ्लिङ बजारका स्थानीय अलैंची व्यवसायी दिनेश अधिकारीका अनुसार लामो समयसम्म एउटै मूल्यमा अर्थात् प्रतिमन २५ हजार रुपैयाँ रहँदा कारोबार अत्यन्तै न्यून भएको थियो ।

अलैंची जोन ताप्लेजुङका संयोजकसमेत रहेका अधिकारीले त्यसबेला गाउँका सीमित किसानले मात्र बजारमा अलैंची बिक्री गर्न ल्याएका र स्थानीय व्यवसायीले प्रतिमन २५ हजार रुपैयाँ लगाएका थिए । अहिले झनै मूल्यमा गिरावट आउन थालेपछि कारोबार ठप्प हुने र किसान तथा व्यवसायीसँग भएको अलैंची गोदाममै थन्क्याएर राख्नुको विकल्प रहेको अधिकारीले बताए । उनले अझै मूल्य घट्ने संकेत पाएको बताए ।

फुङ्लिङ बजारकै अर्का व्यवसायी भद्रवीर रेग्मीले लामो समयसम्म कायम रहेको अलैंचीको मूल्य तोडिँदा झनै घटेपछि अहिले कारोबार ठप्पजस्तै भएको बताए । कारोबार हुने मुख्य मौसममा मूल्य नआएपछि अलैंची गोदाममा थन्क्याएर राख्न बाध्य हुनुपरेको रेग्मीको भनाइ छ ।

स्थानीय बजारमा प्रतिमन २५ हजार रुपैयाँमा कारोबार हुँदै आएको मूल्य अझ ओरालो लागेपछि दुई दिनयता कारोबारै ठप्प भएको उनले बताए ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार ०६:४९