१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

प्रधानमन्त्री ओलीको एपेन्डिक्सको आकस्मिक शल्यक्रिया सकियाे, स्वास्थ्य अवस्था सामान्य

१० मंसिर, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएपछि आकस्मिक शल्यक्रिया गरिएको छ । त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओलीको आकस्मिक शल्यक्रिया गरिएको हो ।

शिक्षण अस्पतालका डाक्टर रमेशसिंह भण्डारीको टोलीलेप्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको अप्रेशन गरेकाे हाे । शल्यक्रिया पश्चात् ‘जनरल वार्ड’मा सार्ने तयारी भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

पेट दुखेपछि प्रधानमन्त्री ओलीलाई मंगलवार बिहान अस्पताल भर्ना गरिएको थियो । परीक्षणका क्रममा एपेन्डिसाइटिस भएको पत्ता लागेको थियो । त्यसपछि तत्काल आकस्मिक शल्यक्रिया गरिएको हो ।

फाइल फाेटाे

के हो एपेन्डिसाइटिस ?

तल्लो पेटको दाहिनेतिर औंला जस्तो आकार भएको थैलीलाई एपेन्डिक्स भनिन्छ । त्यो थैली सुन्निएमा एपेन्डिसाइटिस भनिन्छ ।एपेन्डिसाइटिसले पेटको तल्लो भागमा पीडा दिन्छ । तर धेरै मानिसमा नाइटोबाट पीडा शुरू हुन्छ अनि बढ्दै जान्छ । सुन्निने बढ्दै जाँदा पीडा बढ्छ र निकै चर्को गरी दुख्छ ।

एपेन्डिसाइटिस जसलाई पनि हुन सक्छ र एपेन्डिक्सलाई शल्यक्रिया गरेर हटाउनु नै यसको उपचार हो । यसको लक्षणको कुरा गर्दा नाइटो वरपर अचानक पीडा हुन्छ र तल्लो पेटको दाहिनेतिर पीडा सर्छ । अनि खोक्दा, हिँड्दा वा जिउ थतर्किंदा पनि पीडा बढ्छ । त्यसपछि चक्कर आउने र बान्ता आउने हुन्छ । अनि खाना खान मन लाग्दैन । त्यसपछि ज्वरो आउँछ र बढ्दै जान्छ । अनि पेट फुल्न थाल्छ । अपानवायु धेरै आउन थाल्छ ।

उमेरअनुसार र एपेन्डिक्सको अवस्थितिअनुसार पीडा हुने ठाउँ फरक फरक हुन सक्छ । गर्भवती महिलाको हकमा माथिल्लो पेटमा पीडा हुन सक्छ किनकि गर्भावस्थामा एपेन्डिक्स मास्तिर सर्छ । एपेन्डिक्सको नली रोकिँदा हुने संक्रमण नै एपेन्डिसाइटिसको कारण हुनसक्छ । यस क्रममा ब्याक्टेरिया तीव्र गतिमा बढ्छ र एपेन्डिक्स सुन्निन थाल्छ, फुल्छ र त्यसमा पीप भरिन्छ । तत्कालै उपचार नगरिएमा एपेन्डिक्स फुट्न सक्छ ।

एपेन्डिसाइटिसको उपचार नगर्दा गम्भीर जटिलता आउन सक्छ । एपेन्डिक्स फुटेमा पेटमा संक्रमण हुन सक्छ । त्यसो भएमा तत्कालै शल्यक्रिया गरेर एपेन्डिक्स हटाउनुपर्छ र पेटको क्याभिटी सफा गर्नुपर्छ । एपेन्डिक्स फुटेमा पेटमा पीप जमेर संक्रमण हुन सक्छ । यसको उपचारका क्रममा सर्जनले ट्युब लगाएर पीप र फोहर हटाइदिन्छ । ट्युब लगभग दुई हप्तासम्म राखिन्छ र संक्रमण सफा गर्न एन्टीबायोटिक्स दिइन्छ । संक्रमण सफा गरेपछि शल्यक्रिया गरेर एपेन्डिक्स हटाइन्छ । कुनै कुनै केसमा पीप फोहर फालेपछि तत्कालै एपेन्डिक्स हटाइन्छ ।

प्रकाशित मिति : 12:55