१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

नेपाल-चीन-तिब्बत व्यापार मेला काठमाडौंमा

१० मंसिर, काठमाडौं । नेपाल-चाइना-तिव्बत व्यापार मेला काठमाडौंमा सुरु भएको छ । नेपालमा तिब्बती उत्पादनहरुको प्रदर्शनी तथा बजारको खोजी गर्ने उद्देश्यसहित नेपाल-चीन वाणिज्य संघ र तिब्बत बोर्डर ट्रेड चेम्बरले संयुक्त रुपमा ४ दिने मेला आयोजना गरेको हो ।

सोमबारदेखि सुरु मेलामा तिब्बत र नेपालमा उत्पादन भएका समाग्रीको ६० भन्दा बढी स्टल छन् । मेलाको उद्‌घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले चीनसँगको व्यापारमा पनि ठूलो घाटा व्यवहोरिरहेको अवस्थामा नेपालबाट निर्यात हुने सामग्रीको बजार खोज्न नेपालका उद्योगी व्यवसायीहरु लाग्नुपर्ने बताए ।

उनले नेपाल र चीनमा संयुक्त रुपमा गरिने व्यापार मेलाले नेपालका उत्पादनको तिब्बतमा प्रवर्द्धन गर्न सहयोग पुर्‍याउने र क्रमशः व्यापार घाटालाई कम गर्दै लैजान मद्दत पुग्ने दाबी गरे ।

उनले नेपालीहरु पहिले-पहिले भोट, ल्हासामा काम गर्न जाने गरेको र उनीहरुसँगको सम्बन्ध हजारौँ वर्ष पुरानो भएको बताउँदै यस प्रकारको मेलाले तिब्बत र नेपालबीचको सौहार्दता झनै कायम हुने दाबी गरे ।

त्यसैगरी नेपाल चीन वाणिज्य संघका त्रिभुवनधर तुलाधरले नेपालमा तिब्बतको र तिब्बतमा नेपालको उत्पादनहरुको बजार विस्तारको लागि यस्ता व्यापार मेलाले ठूलो सहयोग पुग्ने दाबी गरे ।

मेलामा नेपाल-तिब्बतका व्यवसायीहरुको सहभागिता छ । मेलामा तिब्बती वाइन, छ्याङ, साइकल, बिस्कुट, कपडालगायत सामग्रीको स्टल राखिएका छन् ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलवार ०८:१७