११ असार २०८३, बिहिबार | Fri Jun 26 2026

लोभ देखाएर कोठीमा पुर्‍याइन्छन् महिला

१० मंसिर, काठमाडौं । सिन्धुलीकी २५ वर्षीया लक्ष्मी (नाम परिवर्तन) लाई चिनेजानेकै एक व्यक्तिले ८ महिनाअघि जागिरको प्रलोभन देखाए । उनले भने, ‘भारत जाऔं, नयाँ दिल्लीमा इलेक्ट्रोनिक्स अफिसभित्र अकाउन्टेन्टको काम लगाइदिन्छु ।’ नजिकका मान्छेले राखेको प्रस्ताव भएकाले त्यसप्रति लक्ष्मीलाई विश्वास लाग्यो । खर्च अभावले दैनिकी धान्न मुस्किल परिरहेको बेला केही त होला नि भन्दै उनी भारत जान मन्जुर भइन् ।

उनलाई भारतमा जागिर खान जान विश्वस्त पार्ने ती व्यक्ति थिए सिन्धुलीकै राम बस्नेत । बस्नेतकै साथी सुरज थापाले पनि लक्ष्मीलाई सम्झाइबुझाइ गरेका थिए । उनीहरू बेलाबेलामा लक्ष्मीको घरमा आइरहन्थे र भारत गएर रोजगारी गरे राम्रो हुने कुरा गरिरहन्थे । लक्ष्मीले स्वीकृति जनाएपछि हिँड्ने मिति तय भयो । चैतमा उनीहरू सिन्धुलीबाट हिँडे । उनीहरूले भारत पुर्‍याई जागिरमा लगाइदिएर मात्रै फर्कने भनी लक्ष्मीलाई भनेका थिए । सिन्धुलीबाट हिँड्नुअघि उनीहरूबीच निजी गाडीमा वीरगन्जसम्म गई त्यहाँबाट बसमा जाने सल्लाह भएको थियो । सोही सल्लाहमुताबिक वीरगन्ज पुगेपछि उनीहरूले भारतको दिल्लीका लागि बसको टिकट काटे ।

लक्ष्मीलाई जागिर लगाइदिन्छु भन्ने रामले वीरगन्जमा पुगेपछि अर्की एकजना साथी पनि भेटाइदिने कुरा गरे । सँगै जान साथी हुने भयो भनी उनी रमाइन् । झापाकी २५ वर्षीय सविना (नाम परिवर्तन) वीरगन्जमा उनीहरूलाई कुरिरहेकी थिइन् । लक्ष्मीलाई जस्तै उनलाई पनि जागिरको आशा देखाइएको थियो । वीरगन्जमा लक्ष्मीलाई सविनासँग भेट गराइयो । त्यहाँबाट चारैजना दिल्लीका लागि हिँडे । एक रात र एक दिनको बसयात्रापछि उनीहरू दिल्ली पुगेको खबर नागरिक दैनिकमा छ । त्यहाँ पुग्दा लक्ष्मी र सविना थकित भइसकेका थिए ।

बसबाट ओर्लिएपछि सँगै आएका राम र सुरजले लक्ष्मी र सविनालाई पहिलो दिन आराम गर्ने र अर्को दिनदेखि मात्र काममा जाने कुरा गरे । थकित शरीरले आराम मागिरहेको बेला दुवैजना उक्त प्रस्ताव मान्न तयार भए । उनीहरूले त्यो रात दिल्लीको एक होटलमा बिताए । सँगै गएका ती दुई पुरुषले पनि लक्ष्मी र सविनाकै कोठामा सुत्ने कुरा गरे । सुरुमा त लक्ष्मी र सविनाले अप्ठ्यारो माने र विरोध जनाए । उनीहरूले जबर्जस्ती गरेपछि बिरानो ठाउँमा इन्कार गर्न सकेनन् । त्यो रात ती दुई पुरुषले लक्ष्मी र सविनालाई यौन सम्पर्कका साथी बनाए ।

भोलिपल्ट बिहान ९ बजे उनीहरू सबै काम गर्ने ठाउँमा जाने भन्दै निस्किए । एक घन्टा सार्वजनिक बसको यात्रापछि दिल्लीकै एउटा गल्लीमा उनीहरू ओर्लिए । साँघुरो गल्लीबाट अलि भित्र छिरेपछि भद्रगोल देखिने ठाउँ आयो । जताततै फोहोर देखिने उक्त ठाउँमा एउटा होटल पनि थियो । ती पुरुषले लक्ष्मी र सविनालाई काम गर्ने ठाउँ यही हो भन्दै चिनाए । लक्ष्मी र सविना छाँगाबाट खसेजस्तै भए । ‘इलेक्ट्रोनिक्स कम्पनी भनेर कस्तो ठाउँमा ल्याएको ?’ भन्दै उनीहरूले तत्काल प्रतिक्रिया जनाए । तर लक्ष्मी र सविनासँग त्यहीं बस्नुको विकल्प भएन । ‘तिमीहरूले काम गर्ने ठाउँ यही हो’ भन्दै ती पुरुषहरू फर्किए ।

कोठी मालिकले काम गर्ने ठाउँ देखाउँछु भन्दै उनीहरूलाई भित्र लगे । त्यहाँ खाट र ओछ्यानसहितका स-साना कोठा थिए । केही कोठामा अन्य महिला पनि थिए । यति देखेपछि लक्ष्मी र सविना बेहोसझैं भए, केही बेर बाहिर उभिए । होटलका मालिकले ‘भित्र गएर बस’ भन्दै हप्काए । ती नेपाली नै थिए । त्यसपछि लक्ष्मी र सविना छुट्टाछुट्टै कोठीमा छिरे । उनीहरूले आफूहरू बेचिइसकेको चाल पाए । त्यहाँ उनीहरुले ग्राहकको इच्छा पूरा गरिदिनैपर्ने भयो । त्यसबापत पैसा आउँछ भनेर कोठी मालिकले उनीहरूलाई भनेका थिए । के सोचेर आएको के भयो भन्दै उनीहरू रोए-कराए तर उनीहरूको वेदना सुनिदिने त्यहाँ कोही थिएन । करिब ६ महिनापछि असोजमा मानव बेचबिखन अनुसन्धान ब्युरोको सहायतामा उनीहरूको उद्धार भयो । अहिले लक्ष्मी र सविना दुवैलाई नेपाल फर्काइएको ब्युरोले जनाएको छ ।

प्रकाशित मिति : November 26, 2019 at 7:27 am