१३ बैशाख २०८३, आइतबार | Mon Apr 27 2026

उपचुनावलगत्तै सभामुख चयन, नेम्वाङ आउने सम्भावना

९ मंसिर, काठमाडौं । राजनीतिक दलबीच समझदारी नहुँदा नयाँ सभामुख चयन अन्योलमा छ । यौन दुर्व्यवहारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएका कारण सो पद खाली छ ।

महरा सत्तारुढ दलबाट सभामुख थिए । उनले राजीनामा दिएपछि सो पदमा कसलाई ल्याउने भन्ने विषयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) टुंगोमा पुगेको छैन । निर्वाचन प्रक्रिया अघि बढाउन संसद्मा रहेका दलहरूबीच सहमति पनि जुट्न नसकेको नागरिक दैनिकमा खबर छ ।

फाइल तस्बिर ।

नयाँ सभामुख कसलाई बनाउने भन्नेमा नेकपाले औपचारिक छलफल गरेको छैन । नेकपाभित्र सभामुखलाई प्याकेजमै टुंगो लगाउने कुरा उठेको थियो । मन्त्रिपरिषद् हेरफेरलगत्तै टुंगो लगाउने भनिएको यो विषयलाई अब उप-चुनावपछि निष्कर्षमा पुर्‍याउने तयारी नेकपाभित्र भएको स्रोत बताउँछ । उप-चुनावमा असर पर्ने भएकाले चुनावअघि यो विषय अघि नबढाउने सुझाव आएपछि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले यो विषयमा औपचारिक छलफल नचलाएको स्रोतको दाबी छ । स्रोतका अनुसार मंसिर १४ गत उप-चुनावपछि संसद् अधिवेशन आह्वान गर्ने तयारी छ । ‘उप-चुनावलगत्तै संघीय संसद् बैठक आह्वान गर्ने करिबकरिब टुंगो लागेको छ,’ स्रोतले भन्यो, ‘त्यसपछि नयाँ सभामुख चयन प्रक्रिया पनि अघि बढ्छ ।’

प्रधानमन्त्री ओली पहिला संवैधानिक आयोगमा नियुक्ति र त्यसपछि मात्र सभामुख टुंग्याउने पक्षमा छन् । प्रधानमन्त्री ओलीले सुवासचन्द्र नेम्बाङलाई सभामुख बनाउन चाहेका छन् । महराको राजीनामालगत्तै नेम्बाङले आफू अब सभामुख नहुने प्रतिक्रिया दिएका थिए । त्यसपछि प्रधानमन्त्री ओलीले ‘यस्तो प्रतिक्रिया नदिनुस्, यसबारे हामी नै बोल्छौं’ भनेपछि नेम्बाङ मौन छन् । स्रोतका अनुसार ओलीले सभामुखमा नेम्बाङबाहेक अर्को व्यक्ति देखेका छैनन् । यसै कारण नेम्बाङले शिवमाया तुम्बाहाम्फे (हाल उपसभामुख) लाई सभामुख बनाउने विषय अघि सार्न छाडेका हुन् । महराको राजीनामायतापछिका केही दिन नेम्बाङले तुम्बाहाम्फेलाई सभामुख बनाउन लबिङ गरेका थिए तर ओलीको चाहना आफूप्रति भएको बुझेपछि उनी मौन बसेको स्रोतको दाबी छ ।

सभामुखमा देवप्रसाद गुरुङ, जनार्दन शर्मा, हरिबोल गजुरेल, पम्फा भुसाल र अग्नि सापकोटाले इच्छा देखाएको स्रोत बताउँछ । उनीहरूको नाम पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसमक्ष पुगेको छ । राज्यको मर्यादाक्रमअनुसार सभामुख पाँचौं स्थानमा हुन्छ । राष्ट्रपति र उपराष्ट्रपति नभएका बेला सभामुखले नै राष्ट्राध्यक्षको भूमिका खेल्नुपर्ने हुन्छ । अब नेकपाभित्रको पूर्वमाओवादी खेमाले सभामुख पाउने सम्भावना कम रहेको बताउँदै एक नेताले भने, ‘संवैधानिक परिषद्मा सभामुख र उपसभामुखसमेत रहने भएकाले पनि पूर्वएमाले खेमाबाटै सभामुख बन्ने सम्भावना बढी छ ।’

प्रकाशित मिति : 08:41