पुटिनलाई नेपाल भ्रमणको निम्तो दिन परराष्ट्रमन्त्री रुस प्रस्थान
८ मंसिर, काठमाडौं । रुसी प्रधानमन्त्री भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निम्तो दिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली मस्को प्रस्थान गरेका छन् । उनले मस्कोमा समकक्षी सेर्गेई लाभरोभसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । शनिबार त्यसतर्फ उडेका परराष्ट्रमन्त्री ज्ञवाली आइतबार (आज) मस्को पुग्नेछन् । ज्ञवाली-लाभरोभबीचको वार्ता भने भोलि (सोमबार) मात्र हुनेछ । वार्ताका क्रममा ज्ञवालीले समकक्षी लाभरोभलाई राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको औपचारिक निम्ता दिनेछन् ।

राष्ट्रपति विद्या भण्डारीका तर्फबाट पठाइएको औपचारिक भ्रमणको निमन्त्रणापत्र समकक्षीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । पर्सि (मंगलबार) इन्स्टिच्युट अफ इन्टरनेसनल रिलेसन्सले मस्कोमा गर्ने कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल-रुस सम्बन्ध तथा सहकार्यबारे सम्बोधन गर्नेछन् । यस्तै उनी बुधबार मस्कोबाट सर्बियाको राजधानी बेलग्रेड भ्रमणमा जाने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । ज्ञवालीको भ्रमण दलमा परराष्ट्रसचिव शंकरदास बैरागी पनि सहभागी छन् ।
प्रकाशित मिति : 09:32









