१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

अब परिमार्जनसहित ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’

७ मंसिर, काठमाडौं । सरकारले चालू आवमा प्रधानमन्त्री रोजगार कार्यक्रम परिमार्जनसहित सञ्चालनका लागि प्रक्रिया थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालू आवका लागि कार्यक्रम सञ्चालन गर्न कार्यविधि संशोधन गरी यो वर्षको कार्यक्रम सुरु गरेको हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक एवं सहसचिव प्रकाश दाहालले कार्यक्रम सञ्चालन गर्न स्थानीय तहमा खटिएका रोजगार संयोजकमार्फत कार्यक्रम सञ्चालनका लागि प्रक्रिया सुरु गरिसकेको जानकारी दिए । उनले भने, प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन कार्यविधि संशोधन गरी यो वर्ष धेरै व्यवस्थित बनाउन खोजेका छौँ, गत वर्षजस्तो योपटक समस्या आउँदैन भन्नेमा विश्वस्त छौँ ।

गत वर्ष हतारमा कार्यक्रम सञ्चालन गरियो त्यसैले केही समस्या आए । कार्यविधिका कारण भएका समस्या पनि संशोधन गरिएकाले यो वर्ष कार्यक्रममा लक्षित वर्गले अधिकतम लाभ लिने उनको दाबी छ ।

संयोजक दाहालले संशोधित कार्यक्रम सञ्चालन कार्यविधिमै गत वर्ष दुर्गम जिल्ला, गरिबी, बेरोजगारलाई प्राथमिकता दिएर पैसा पठाएको थियो भने यो वर्ष आयोजनाका आधारमा मात्रै स्थानीय तहमा पैसा पठाउने व्यवस्था गरेको जानकारी दिए । उनले भने, नयाँ व्यवस्थाअनुसार स्थानीय तहमा कति बेरोजगारी छन्, ती बेरोजगारलाई कति आयोजना आवश्यक पर्छ, त्यो आधारमा मंसिर २५ गतेभित्र आयोजना पठाउन गत साता सबै स्थानीय तहलाई पत्राचार गरेका छौँ ।’

बेरोजगारलाई न्यूनतम सय दिनको रोजगारी दिने सरकारले गत वर्ष यो कार्यक्रम सुरु गरेको थियो । रोजगारी दिने नाममा झार उखेल्न लगाएर पैसा बाँडेको भन्दै पहिलो वर्ष नै यो कार्यक्रम निकै आलोचित बनेको गोरखापत्र दैनिकमा खबर छ ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार ०७:४१