मैले मन्त्रालय सम्हालेदेखि धेरै रेकर्ड तोडिएकाे छः महासेठ
५ मंसिर, काठमाडाैँ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा निवर्तमान मन्त्री रघुवीर महासेठले २० महिना आफूले मन्त्रीको हैसियतमा काम गर्न पाएकोमा खुशी व्यक्त गर्दै मन्त्रालयले धेरै रेकर्ड तोडेको दाबी गर्नुभयो । विगत एक वर्षमा ७२ वटाभन्दा बढी पक्की पुल बन्न नसकेकामा २०७४/७५ मा ८६ वटा बनेको जानकारी दिँदै उहाँले गत २०७५/७६ को असार १८ गतेसम्ममा २४३ वटा पुल बनिसकेको जानकारी दिनुभयो ।

महासेठले यस वर्ष ३०० वटा पुल निर्माणको लक्ष्य रहेको बताउनुभयो । उहाँले मन्त्री नेम्वाङको कार्यकालमा आफूले बनाएको रेकर्ड तोड्ने विश्वास व्यक्त गर्नुभयो । पहिले एक वर्षमा ६०० किलोमिटर मात्रै कालोपत्र हुने गरेकामा आव २०७४/७५ मा ९४५ किलोमिटर बनाएको र अहिले ९८८ किलोमिटर बनाउने योजना रहेकामा असारसम्ममा एक हजार किलोमिटर कालोपत्र भइसकेको बताउनुभयो ।
उहाँले रेल्वे फागुन ७ गते सञ्चालन गर्ने सोच बनाइसकेको जानकारी गराउँदै नयाँ मन्त्रीले त्यो काम अघि बढाउने विश्वास व्यक्त गर्नुभयो । पानीजहाजमा पनि नयाँ फड्को मार्ने क्रममा रहेको उहाँले बताउनुभयो । यो वर्ष काठमाडौँ उपत्यकालाई केन्द्रित गरेर कार्यक्रम अघि बढाएको जानकारी उहाँले दिनुभयो ।
प्रकाशित मिति : 16:57









