१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

५ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राति मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । नव नियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुको पद तथा गोपनीयताको शपथ ग्रहण आजै हुने भएको छ ।

झन्डै साता दिनको रस्साकस्सीपछि हिजो मन्त्रीमण्डलमा हेरफेर गरिएको हो । आज राष्ट्रपतिको उपस्थितिमा बिहान ११ बजे शीतलनिवासमा मन्त्री तथा राज्यमन्त्रीहरुले शपथग्रहण गर्ने कार्यक्रम छ । मन्त्रीहरुले राष्ट्रपतिबाट र राज्यमन्त्रीहरुले प्रधानमन्त्रीबाट शपथ लिनेछन् ।

हिजोको मन्त्रीमण्डलका सदस्यहरुको जिम्मेवारी हेरफेरमा ईश्वर पोखरेल, योगेश भट्टराई, रामबहादुर थापा बादल, प्रदीप ज्ञवाली, गोकुल बास्कोटा र वर्षमान पुनको जिम्मेवारी भने कायमै छ ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको स्वास्थ्य मन्त्रालय खोसेर नेकपा नेता भानुभक्त ढकाललाई दिइएको छ । यादवलाई भने कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री ओलीले ६ मन्त्री र ३ राज्यमन्त्रीलाई हटाएका छन् । हटाइएका मन्त्रीमा संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डित, कृषिमन्त्री चक्रपाणी खनाल ‘बलदेव’, उद्योगमन्त्री मातृका यादव, श्रममन्त्री गोकर्ण विष्ट, भौतिक पूर्वधारमन्त्री रघुवीर महासेठ, महिला बालबालिकामन्त्री थममाया थापा, पर्यटन राज्यमन्त्री धनबहादुर बुढा, कृषि राज्यमन्त्री राजकुमारी चौधरी र स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादव छन् ।

प्रधानमन्त्री ओलीले हिजो (बुधबार) राति ६ मन्त्री र ३ राज्यमन्त्रीलाई हटाएर नयाँ नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीमा श्रम रोजगार तथा सामाजिक सुरक्षामा रामेश्वर राय यादव, संघीय मामिला तथा सामान्य प्रशासनमा हृदयेश त्रिपाठी, उद्योग वाणिज्य तथा आपूर्तिमा लेखराज भट्ट, कृषि तथा पशुपक्षी विकासमा घनश्याम भुसाल, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमा पार्वत गुरुङ, भौतिक पूर्वाधार तथा यातायातमा वसन्तकुमार नेम्वाङ रहेका छन् ।

त्यस्तै मोतिलाल दुगड उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री, नवराज रावत स्वास्थ्य तथा जनशंख्या राज्यमन्त्री र रामवीर मानन्धर सहरी विकास राज्यमन्त्री नियुक्त भएका छन् ।

उपेन्द्र यादवको मन्त्रालय खोसिएपछि समाजवादीले सरकार छाड्ने, राज्यमन्त्री यादव बर्खास्त

मन्त्रिपरिषद् पुनर्गठनः उपेन्द्रको मन्त्रालय खोसियो, घनश्याम भुसाल कृषिमन्त्री (सूचीसहित)

 

प्रकाशित मिति : November 21, 2019 at 8:41 am