१५ पुष २०८२, मंगलवार | Tue Dec 30 2025

मुलुकमा पहिलोपटक आधुनिक फलाम खानी कम्पनी

३ मंसिर, काठमाडौं मुलुकमा पहिलोपटक आधुनिक फलाम खानी कम्पनी कानुनी रूपमा स्थापना भएको छ । कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता प्रक्रिया पूरा भएपछि आधुनिक फलाम खानीले संस्थागत आकार लिएको हो ।

नवलपुरको होप्से गाउँपालिकामा स्थापना गर्न लागिएको फलाम खानी कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई कम्पनी सञ्चालनका थप प्रक्रिया अगाडि बढाइएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको गोरखापत्र दैनिकमा खबर छ ।

मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलले कम्पनी ऐन, २०६३ अनुसार कम्पनी रजिस्ट्रारको कार्यालयमा ‘धौवादी फलाम खानी लिमिटेड’ नामको कम्पनी दर्ता भएको जानकारी दिए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कम्पनी रजिस्ट्रारको कार्यालयमा कम्पनीको नाम ‘धौवादी फलाम खानी कम्पनी’ रहने प्रस्ताव गरेकामा प्रस्तावित सो नाममा कुनै दाबी विरोध नआपछि ‘धौवादी फलाम खानी कम्पनी’ दर्ता भएको हो ।

मन्त्रिपरिषद्ले स्वीकृत गरेको कम्पनीको प्रबन्धपत्र र नियमावलीअनुसार कम्पनीको सञ्चालक समिति गठन हुने बताउँदै सहसचिव पौडेलले समितिमा अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि रहने जानकारी दिए ।  कम्पनीको नियमावलीअनुसार कम्पनीको सञ्चालक समिति ७ सदस्यीय हुने छ तर साधारण सभा नभएसम्म ४ सदस्यीय सञ्चालक समिति गठन गरिनेछ ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलवार ०७:२०