२५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026

खोलाकाे पानी पिउन बाध्य छन प्रधानमन्त्री अोलीको गृह जिल्लाका जनता

१६ वैशाख, झापा । झापा मेचीनगरका तीन वटा वडाका साढे चार हजारभन्दा बढी घरपरिवार खोलाको पानी पिउन बाध्य छन् । पिउने पानीको अन्य स्रोत नहुँदा उनीहरु खोलाको पानी पिउन बाध्य भएका हुन् ।

मेचीनगर नगरपालिका– १, २ र ३ नं वडामा बासोबास गर्ने चार हजार ५५० घरपरिवारका १६ हजार जनाकोे बसोबास रहेको स्थानमा पानीको समस्या रहेको उक्त नगरपालिकाका सूचना अधिकृत अशोक भेटवालले जानकारी दिनुभयो ।

पानीको स्रोत नहुँदा वर्षौंदेखि खोलाको पानी पिउन बाध्य भएको मेचीनगर–२ की लक्ष्मी चापागार्इंंले बताउनुभयो । पानीको समस्या समाधानका लागि पटक पटक पहल गरे पनि सुनुवाइ नभएको उहाँको गुनासो थियो ।

“स्थानीय तहको चुनावमा पनि पानीको समस्या उठाइएको थियो”, चापागाईंले भन्नुभयो, “आश्वासन त पाइयो तर पानीको समस्या समाधान भएको छैन । अझ वर्षायामका समयमा त आकाशे पानी थापेर प्रयोगमा ल्याइने गरिन्छ । ”

नगर क्षेत्रभित्र तीन ठूला खानेपानी आयोजना सञ्चालन भए पनि आफूहरुका लागि कहीँकतैबाट पहल नहुँदा यस क्षेत्रका बासिन्दाले वर्षौंदेखि पानीको समस्या भोग्दै आएको अर्का स्थानीयवासी संगंीता खड्काले बताउनुभयो ।

वर्षौंदेखि खोलाकै पानी पिउँदै आएका अर्का स्थानीय यामबहादुर विश्वकर्माले पीडा सुनाउनुभयो, “यही खोलामा शव जलाउने गरेका छौँ, यही खोलाको पानी पिउन बाध्य छौँ । अंगार पन्छाएर पानी पिउनुपर्छ ।”

विसं २०५३ मा नगरपालिका बनेको मेचीनगरले २० वर्ष बितिसक्दा पनि यस क्षेत्रका बासिन्दाको समस्या समाधान गर्न सकेको थिएन तर अहिले भने पहल भइरहेको नगरप्रमुख विमल आचार्यले बताउनुभयो ।

“खानेपानी विभागलगायतका सरोकारवाला निकायलाई यस विषयमा जानकारी गराएका छौँ”, प्रमुख आचार्यले भन्नुभयो, “चाँडै स्वच्छ पिउने पानीको व्यवस्था गर्नेछौँ । केही वर्षभित्रै स्थायी रुपमा समस्या समाधान हुन्छ । ” रासस

प्रकाशित मिति : April 29, 2018 at 1:26 pm