१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

कालापानीबाट भारतीय सेना हाटाउने र नेपाली भूमि फिर्ता लिने काम यही सरकारले गर्छ: प्रम ओली

१ मंसिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि कालापानीबाट भारतीय सेना हटाउने बताउनुभएकाे छ । भारतीय सेनालाई नेपाली भूमिबाट हटाउने मात्र नभई प्रधानमन्त्री ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउने समेत बताउनुभएकाे हाे । नेकपाको भातृसंगठन राष्ट्रिय युवा संघको प्रशिक्षण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कालापानी, लिपुलेक, लिम्पियाधुराबाट भारतीय सेना फिर्ता लैजान भारतलाई आग्रह गर्नुभयाे ।

प्रधानमन्त्री ओलीले भन्नुभयाे, ‘अहिलेको सरकार संवाद गर्न नसक्ने होइन । इतिहासले देखाइसकेको छ। सरकारले संवादको माध्यमबाट सीमा समस्या समाधान गर्छ। कतिपयले नक्सा सच्याउन भनेका छन् तर त्यो समाधान होइन,’ ‘भूमि फिर्ता लिने कुरा हो। नक्सा त प्रेसमा छापे भइहाल्यो, हामी भूमि फिर्ता लिन्छौं।’

प्रधानमन्त्री ओलीले नेपालको जमिनबाट भारतिय सेना फिर्ता लैजान भन्दै नेपाली भूमिमा सेना राख्ने पनि बताउनुभयाे। ‘हामी हाम्रो जमिनबाट सेना फिर्ता लैजानुस् भन्छौं र त्यहाँ हाम्रो सेना राख्छौं,’ प्रधानमन्त्रीले भने, ‘हामी विश्व शान्तिमा लागेका छौं। शान्ति सेनामा सेना पठाएर। अरुको रक्षा गर्न सक्नेले आफ्नो पनि सक्छ।’ केही समय अघि भारतले जारी गरेको राजनीतिक नक्सामा नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समावेश गरेपछि नेपालमा भारतको विरोध भइरहेको छ।

प्रकाशित मिति : November 17, 2019 at 7:02 pm