४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

अधिकार दिनोस् अर्थ दिनु पर्दैनः मुख्यमन्त्री शाही

१५ वैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संघीय सरकारलाई अर्थ नभई अधिकार दिन अनुरोध गरेका छन् ।
कर्णाली सम्मेलनको आज यहाँ उद्घाटन गर्दैै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशका लागि अधिकारको आवश्यकता रहेकामा जोड दिए ।

कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र तथा नेप्लिज सिभिल सोसाइटी माउण्टेन इनिसियटिभको पहल तथा राष्ट्रिय मानवअधिकार आयोग नेपालसँगको समन्वयमा सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘समावेशी विकास–अधिकारको सुनिश्चितता ः सामाजिक न्याय र समृद्धिको पहल’ विषयक कर्णाली सम्मेलन गरिएको हो ।

मुख्यमन्त्री शाहीले कर्णाली विशेष अधिकार प्रदेश चाहन्छ, यहाँका गौरवका आयोजना निर्माणका लागि संघीय सरकारको स्वीकृति लिनुपर्ने पद्धतिले कर्णाली प्रदेशको विकास हुन नसक्ने बताए ।
संघीय सरकारले यो प्रदेशको आगामी बजेटको सिलिङ रु १४ अर्ब पठाएको भएपनी त्यसले यहाँको विकासमा टेवा नपुग्ने मन्त्रीले बताएका छन् ।
सम्मेलनमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, प्रदेशसभा प्रतिपक्षी दलका नेता जीवनबहादुर शाही, भौतिक पूर्वाधारमन्त्री खड्गबहादुर खत्री, उपसभामुख पुष्पा घर्ती, राष्ट्रिय योजना आयोग क्षेत्री कार्यालयका प्रमुख मुरारी खरेल, विज्ञ गौरी प्रधान र प्रदेशसभा सदस्यसहित पत्रकार सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०७५, शनिबार १४:४१