लिपुलेक र कालापानी नेपालको नक्सामा राखिसकियाे, लिम्पियाधुराको प्रमाणहरु जुटाउँदै छाैँ: मन्त्री अर्याल
२७ कात्तिक, विरगञ्ज । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले सीमा नक्सा दुई देशको सहमतिमा बन्नुपर्ने बताउनुभएको छ । पर्साको विरजञ्जमा आयोजीत पार्टी कार्यकर्ता भेटघाटमा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो । मन्त्री अर्यालले लिपुलेख, कालापानी नेपालकै नक्सामा राखिसकेको बताउनुभयो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आयोजना गरेको आ.ब. ०७५⁄०७६ को बार्षिक प्रगति समिक्षा गोष्ठी एवं प्रदेशस्तरीय दुई दिने अन्तरक्रिया कार्यक्रमा सहभागी हुन मन्त्री अर्याल वीरगन्ज आइपुग्नु भएको हो ।
भारतले नयाँ नक्सा निर्माणमा नेपालको लिपुलेक पनि उतै राखेको सन्दर्भलाई संकेत गर्दै मन्त्री अर्यालले भन्नुभयो, ‘लिम्पियाधुराको सवालमा प्रमाणहरु जुटाउँदै गरेको छ । लिपुलेक र कालापानी नेपालको नक्सामा नै राखिसकियो ।’ आफ्नो भूमि जोगाउन सरकारले कुनै कसर बाँकी नराख्ने समेत बताउनुभयो । ‘यो सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा लगायतको नेपाली भूमि जोगाउन कुनै कसर बाँकी राख्दैन । ज्यान फालेर भए पनि आफ्नो भूमि आफ्नै गरेर छोड्छ’, उहाँले भन्नुभयो ।

पार्टीको नेतृत्व गरेर प्रधानमन्त्री बनेका केपी शर्मा ओली, झलनाथ खनाल, माधव नेपाल र जनयुद्धको नेतृत्व गरेर आएका प्रचण्ड जस्ता व्यक्तिहरु भएको पार्टीको नेतृत्वमा बनेको सरकारले एक इन्च पनि नेपाली भूमि अरुकोमा पार्न नदिंने उहाँको भनाइ थियो । मन्त्री अर्यालले भन्नुभयो, ‘अझ केपी शर्मा ओली नेतृत्वको यो सरकारले यस्ता कुरामा कुनै खुट्टा कमाउँदैन ।’लोकतन्त्रको प्राप्तिसँगै जनताको अभिमतबाट आएको दुईतिहाईको सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारा लिएर अगाडी बढिरहेको बताउदै मन्त्री अर्यालले भन्नुभयो ‘अब सरकारले विकासको खाका मात्र बनाउँदैन । कामको प्रतिफल देखिने गरी काम गर्छ ।’
सरकारले गरेका राम्रा कामको भने सहि प्रचार हुन नसकोको उहाँको गुनासो छ । राम्रा कामको ठोस कुरा जतनामा लान पार्टी कार्यकर्तालाई उहाँले सुझाव दिनुभयो । सामाजिक सञ्जाल र बाहिर जता पनि प्रतिपक्षका मात्र कुरा आउँदा फिल्डजति सबै प्रतिपक्षलाई छाडेर चुप बसेको जस्तो देखिएको भन्दै कम्तिमा राम्रा कामको प्रचार गर्न पार्टी कार्यकर्तालाइ आग्रह गर्नुभयो । स्थानीय पार्टीका नेता कार्यकर्ताले उठाएका सवालहरुलाई सम्बोधन गर्दै मन्त्री अर्यालले आफूले पनि निगरानी राख्ने बताउनु भयो । जनअपेक्षा विपरित भएको कुनै काम आफूलाई मान्य नहुने भन्दै मन्त्री अर्यालले पार्टीका नेता कार्यकर्ताबाट पनि सकारात्मक सुझाव हुनुपर्ने बताउनुभयो ।
प्रकाशित मिति : November 13, 2019 at 11:00 am









