बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज उच्चस्तरीय भेटवार्ता गर्ने
२७ कात्तिक, काठमाडाैँ । नेपालको औपचारिक राजकीय भ्रमणमा आउनुभएको जनगणतान्त्रिक बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज उच्चस्तरीय भेटवार्ता गर्नुहुने तय भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपालको चारदिने राजकीय भ्रमणमा आउनुभएको हो । राष्ट्रपति हमिदसँग उहाँकी पत्नी रसिदा हमिद पनि हुनुहुन्छ । राष्ट्रपति भण्डारीले बङ्गलादेशी समकक्षीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर स्वागत गर्नुभएको थियो ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र बङ्गलादेशका राष्ट्रपति हमिदबीच बुधबार उच्चस्तरीय भेटवार्ता हुने भएको छ । अपराह्न ४ः३० बजेदेखि ५ः०० बजेसम्म चल्ने भेटमा आपसी हितका विषयमा छलफल हुने छ । बुधबार राष्ट्रपति भण्डारीले समकक्षीको स्वागतमा रात्रिभोज आयोजना गर्नुहुने कार्यक्रम छ ।
रात्रिभोजअघि बुधबार अपराह्न ३ः१५ बजे उपराष्ट्रपति नन्दबहादुर पुन, २ः४० बजे प्रधानमन्त्री केपी शर्मा ओली, २ः०० बजे प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति हमिदसँग शिष्टाचार भेटवार्ता गर्नुहुने छ । बिहान ११ः१० बजे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बिहान १०ः५० बजे राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उहाँसँग शिष्टाचार भेट गर्नुहुने तय भएको छ ।
प्रकाशित मिति : 08:21









