१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

श्रम सम्झौता परिमार्जन गर्न बहराइन तयार, थप नेपाली श्रमिकलाई रोजगारीको अवसर दिने

२६ कात्तिक, काठमाडाैँ । नेपाल र बहराइनबीच भएको श्रम सम्झौता परिमार्जन गर्न बहराइन तयार भएको छ । नेपालका लागि बहराइनका गैरआवासीय राजदूत अब्दुल रहमान मोहम्मद अहमद अल गाउदले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग आज गर्नुभएको शिष्टाचार भेटमा नेपाली श्रमिकको हकहित र कल्याणका लागि विगतको श्रम सम्झौता परमार्जन गर्न बहराइन प्रतिबद्ध रहेको बताउनुभयो ।

नेपाली श्रमिक अनुशासित र कामप्रति प्रतिबद्ध भएको भन्दै राजदूत गाउदले पछिल्लो समय बहराइनमा नेपाली श्रमिकको माग उच्च रहेको बताउनुभयो । बहराइन सरकारले थप नेपाली श्रमिकलाई रोजगारीको अवसर दिन चाहेको उहाँले बताउनुभयो । भेटमा मन्त्री विष्टले बहराइनमा रहेका नेपाली श्रमिकको सामाजिक सुरक्षा र कल्याणमा दुवै देशले विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै नेपाल र बहराइनबीच भएको श्रम समझदारीलाई समयानुकूल बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको थियो । उहाँले नेपाली श्रमिकका समस्या समाधान गर्न बहराइन सरकारको सकारात्मक भूमिकाको अपेक्षा गर्नुभएको थियो ।

बहराइनमा रोजगारीका लागि जाने नेपाली श्रमिकको सङ्ख्या वृद्धि गर्न नेपाल सरकार सकारात्मक रहेको बताउँदै उहाँले श्रम, आप्रवासनको क्षेत्रमा भएका अन्तर्राष्ट्रिय मान्यतालाई आत्मसात् गरी द्विपक्षीय श्रम सम्बन्धलाई सुदृढ बनाउन आग्रह गर्नुभएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : November 12, 2019 at 11:15 pm