ठगी र किर्ते मुद्दामा फरार रहेका सुदूरपश्चिम प्रदेशका पर्यटन राज्यमन्त्री प्रकाश रावलद्धारा राजिनामा
२४ कात्तिक, काठमाडाैँ । ठगी र किर्ते मुद्दामा फरार रहेका सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजिनामा दिएका छन । उनले आइतबार पदबाट राजिनामा दिएका हुन । राज्यमन्त्री रावलले आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजिनामा बुझाएका हुन् । उनले एक प्रेस विज्ञप्ति जारी गरी कञ्चनपुरको एक क्याम्पसको शेयर विक्रीमा संलग्नताको आरोप लागेपछि नैतिकताका आधारमा राजिनामा दिएको बताएका छन् । रावलले आपराधिक गतिविधिबाट समेत सम्पत्ति आर्जन गरेको सूचनाका आधारमा केही अघि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानविन गरिरहेको थियो ।

मन्त्री रावलविरुद्ध गत ७ साउनमै जिल्ला अदालत कञ्चनपुरमा ठगी तथा किर्ते मुद्दा परेको थियो । सोही मुद्दाको ‘सम्बद्ध मुद्दा’ का रूपमा सम्पत्ति शुद्धीकरणले उनको सम्पत्ति छानबिन गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले फरार अभियुक्तका रूपमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो । अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरे पनि प्रहरीले पक्राउ गर्न चासो दिएको थिएन । राजिनामा दिएसँगै उनी पक्राउ पर्ने प्रहरी स्रोतले जनाएको छ ।

प्रकाशित मिति : 14:16









