१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

२४ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले मंसिर १४ गते हुने उप-चुनावका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको अन्तिम नामावली आज (आइतबार) प्रकाशन गर्दै छ । आइतबार उम्मेदवारी फिर्ता लिने समय दिएको आयोगले यो सकिएलगत्तै अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरेको हो । बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने कार्यक्रम छ भने दिउँसो ३ देखि साँझ ५ बजेसम्म अन्तिम नामावली प्रकाशित हुने आयोगले जनाएको छ।

आयोगको कार्यतालिकाअनुसार मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली शनिबार प्रकाशन गरिएको थियो । मनोनयन दर्ता गराएका उम्मेदवारको जाँचबुझ गरी नामावली प्रकाशित गर्नुपर्ने कानुनी प्रावधान छ । तर, उम्मेदवारको विरोधमा कुनै उजुरी नपरेपछि जाँचबुझ गर्नै नपरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

आज उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि भोलि (सोमबार) बिहान ११ देखि अपराह्न ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ । प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३ र स्थानीय तहको प्रमुख १, अध्यक्ष ३, उपाध्यक्ष १ र वडाध्यक्ष ४३ गरी ५२ पदका लागि मंसिर १४ गते ३७ जिल्लामा विभिन्न क्षेत्रमा उप-चुनाव हुँदै छ ।

प्रकाशित मिति : 09:54