१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

भारतीय राजदूतलाई देउवाकाे फाेनः कालापानी र लिपुलेक नेपाली भूमि हो

२१ कात्तिक, काठमाडौँ । प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आज भारत सरकारले हालै सार्वजनिक गरेको नक्साका सन्दर्भमा नेपालका लागि भारतीय राजदूत मंजिभसिंह पुरीसँंग टेलिफोन संवाद गर्नुभएको छ । संवादमा सभापति देउवाले नक्साप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको तथ्य स्मरण गराउनुभएको काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

काङ्ग्रेसले विज्ञप्तिमार्फत कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको तथ्यमा प्रष्ट रहेको उल्लेख गर्दै नेपालको कुनै पनि भूमिमाथि हुने कुनै पनि ढङ्गको अतिक्रमण अस्वीकार्य हुने जनाएको छ ।

भारत सरकारले हालै सार्वजनिक गरेको नक्साका सन्दर्भमा सोही दिनै प्रवक्ता शर्माले ट्विटमार्फत पार्टीको औपचारिक धारणा सार्वजनिक गर्नुभएको थियो । यस्तो महत्वपूर्ण प्रश्नमा दल विशेषको मतभन्दा माथि उठेर देशको साझा मत एवं त्यस्तो मतको प्रतिनिधित्व गरेर कूटनीतिक माध्यमद्वारा हल खोज्न सरकार समर्थ हुनुपर्ने काङ्ग्रेसको दृष्टिकोण रहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : 19:40