ओली र प्रचण्डबीच आकस्मिक भेटवार्ता, वैशाख २२ मा पार्टी एकताको घोषणा गर्ने तयारी
१४ वैशाख, काठमाडौँ । प्रधानमन्त्री एवंम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बीचमा शुक्रबार साँझ आकस्मिक भेटवार्ता भएको छ । पार्टी एकताको विषयमा खासै मतभेद नभए पनि पदको व्यवस्थापन नमिल्दा एकीकरणको घोषणा हुन नसकेको परिप्रेक्षमा दुई अध्यक्षको बीचमा भेटवार्ता भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नमिलेको विषयमा सहमति खोज्ने विषयमा छलफल भएको बुझिएको छ । दुई अध्यक्षको बीचमा बाहिर हल्ला नगर्ने तर वैशाख २२ मा पार्टी एकताको घोषणा गर्ने विषयमा समेत छलफल भएको बुझिएको छ ।
दुबै अध्यक्षले ठूलै अवरोध सिर्जना नभए कार्ल माक्र्स जयन्तीको अवसर पारेर आगामी २२ वैशाखमा पार्टी एकता गर्ने विषयमा छलफल गरेको बालुवाटार स्रोतले बताएको छ । ओली र दाहालले गत ९ वैशाखमा आयोजित सभामा घोषणा नगरेको मितिमा पार्टी एकता हुने बताएका थिए ।
प्रकाशित मिति : १४ बैशाख २०७५, शुक्रबार १९:१६