गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा
३० असोज, काठमाडौं । सरकारले बाढी तथा पहिरोबाट प्रभावित गोरखा, बाग्लुङ र धादिङका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले बागलुङ जिल्लाका गल्कोट नगरपालिका र ढोरपाटन नगरपालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो।

बाढी तथा पहिरोबाट प्रभावित गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाका वडा नम्बर १ र २ लाई पनि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरिएको छ।
सञ्चारमन्त्री विक्रम तिमल्सिनाका अनुसार बुढीगण्डकी नदीमा आएको बाढीबाट अतिप्रभावित गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरूघाट गाउँपालिका तथा धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं. १ र २ लाई एवं मिति २०८३ असोज ८ गतेदेखि ११ गतेसम्म भएको वर्षाका कारण सिर्जित बाढी तथा पहिरोबाट अति प्रभावित बागलुङ जिल्लाका थप दुई वटा स्थानीय तह गलकोट नगरपालिका र ढोरपाटन नगरपालिकालाई तीन महिनाको अवधिको लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरिएको हो।
प्रकाशित मिति : October 16, 2026 at 2:44 pm








