५ कार्तिक २०८३, बुधबार | Wed Oct 21 2026

आज विजया दशमी : बिहान १०:२६ बजे टीकाको उत्तम साइत

४ कात्तिक, काठमाडौँ । नेपालीको महान् पर्व बडादशैंको मुख्य दिन विजया दशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ। नवदुर्गा भवानीको प्रसादस्वरूप मान्यजनबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गरी दशैं मनाउने क्रम सुरु भएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष टीका लगाउनका लागि बिहान १० बजेर २६ मिनेटलाई उत्तम साइत निर्धारण गरेको छ। समितिका अनुसार देवी विसर्जनको साइत बिहान ८ बजेर ४९ मिनेटमा रहेको छ। देवी विसर्जनपछि टीका लगाउन सकिने भए पनि शुभ साइतमै टीका लगाउन चाहनेका लागि बिहान १०:२६ बजेको समय उपयुक्त मानिएको हो।

समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार विजया दशमीका दिन दिनभर नै टीका लगाउन सकिन्छ। त्यसैले निर्धारित साइतमा टीका लगाउन नभ्याउने वा यात्रामा रहनुपर्ने अवस्थाका व्यक्तिले साइत गुज्रिएको भन्दै चिन्ता लिनु पर्दैन।

टीका लगाउँदा कुन दिशातर्फ फर्किने ?

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार शुभ साइतमा टीका लगाउँदा टीका लगाइदिने मान्यजन पूर्वतर्फ र टीका थाप्ने व्यक्ति पश्चिमतर्फ फर्किनुपर्छ। धार्मिक परम्पराअनुसार दक्षिण दिशा पितृकर्मसँग सम्बन्धित भएकाले दशैंको टीका लगाउँदा दक्षिण फर्किने चलन नरहेको बताइन्छ।

दशैंको टीका लगाउने क्रममा सुरुमा कुलदेवता र पितृदेवतालाई टीका चढाउने परम्परा छ। त्यसपछि घरको मूल ढोकामाथि टीका लगाउने चलन भएका स्थानमा सो विधि पूरा गरी गुरुपुरोहित वा मान्यजनबाट टीका र जमरा ग्रहण गरिन्छ। कतिपय परिवारमा घरमा स्थापना गरिएको कलशको जल अभिषेक गरी इष्टदेवता र कुलदेवताको स्मरण गर्दै जमरा काट्ने धार्मिक विधि पनि प्रचलित छ।

धार्मिक मान्यताअनुसार दुर्गा विसर्जनपछि कलशको जल पवित्र मानिन्छ। त्यसैले टीका लगाउने क्रममा कलशको जल, जमरा र रातो टीकालाई विशेष महत्त्व दिइन्छ।

रातो टीका र जमराको धार्मिक महत्त्व

विजया दशमीलाई असत्यमाथि सत्य र अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा लिइन्छ। घटस्थापनादेखि नौ दिनसम्म नवदुर्गाको पूजा–आराधना गरेपछि दशौँ दिन देवीको प्रसादका रूपमा टीका र जमरा ग्रहण गर्ने परम्परा छ।

दशैंमा रातो टीकालाई शुभताको प्रतीक र जमरालाई समृद्धि एवं उर्वरतासँग जोडेर हेर्ने गरिन्छ। मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्दै परिवारका सदस्य तथा आफन्तबीच प्रेम, सद्भाव र सम्मान साटासाट गरिन्छ।

रोजगारी, अध्ययन तथा पेसा–व्यवसायका कारण घरबाट टाढा रहेका नेपालीसमेत दशैं मनाउन आफ्नो जन्मथलो र परिवारमा फर्कने भएकाले यो पर्व पारिवारिक पुनर्मिलनको महत्त्वपूर्ण अवसर पनि हो।

साइत कुर्न नसक्नेले के गर्ने ?

दशैंको टीकाका लागि उत्तम साइत तोकिए पनि त्यो समयमै टीका लगाउनैपर्ने बाध्यता नरहेको धार्मिक जानकारहरू बताउँछन्। बिहान घाम झुल्किएपछि विधिपूर्वक मान्यजनबाट टीका ग्रहण गरेर अन्य आफन्तकहाँ टीका थाप्न जान सकिने परम्परा छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा.डा. देवमणि भट्टराईका अनुसार यात्रा, समयको अभाव वा अन्य बाध्यताका कारण निर्धारित साइतमा टीका लगाउन नसक्नेले पनि दिनभर मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्न सक्छन्। विदेशबाट ढिलो आइपुग्ने वा टाढा रहेका आफन्तकहाँ पुग्नुपर्ने व्यक्तिले पनि साइत गुज्रिएको भन्दै टीका लगाउनबाट वञ्चित हुनुपर्ने अवस्था नरहेको उनको भनाइ छ।

नेपालमा राष्ट्रिय पर्वका रूपमा मनाइने बडादशैंको मुख्य दिन आज अधिकांश परिवारमा टीका र जमरा ग्रहण गरिन्छ। कतिपय स्थान तथा परिवारमा भने कोजाग्रत पूर्णिमासम्मै मान्यजनबाट टीका र आशीर्वाद थाप्ने परम्परा छ।

विजया दशमीले धार्मिक आस्था र सांस्कृतिक परम्परालाई निरन्तरता दिनुका साथै परिवार, आफन्त र समुदायबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिन्छ।

प्रकाशित मिति : October 21, 2026 at 8:17 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/