१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

खल्ती र लर्ड बुद्ध एजुकेसन फाउन्डेसनबीच विद्यार्थीहरुलाई इन्टर्नशिप र रोजगारी प्रदान गर्ने सम्झौता

२० कात्तिक, काठमाडौँ । ‘खल्ती डिजिटल वालेट’ र ‘लर्ड बुद्ध एजुकेशन फाउन्डेशन’ले ई–बिजनेस र आईटी पढेका विद्यार्थीहरुलाई इन्टर्र्निशप र रोजगारीको अवसर प्रदान गर्ने सम्बन्धि एक रणनितिक साझेदारीको घोषणा गरेका छन् । खल्तीका तर्फबाट प्रबन्ध निर्देशक मनीष मोदी र लर्ड बुद्ध एजुकेशन फाउन्डेशनका तर्फबाट अध्यक्ष पंकज जलानले काठमाडौंमा आयोजित एक विशेष समारोह बीच सम्झौतामा हस्ताक्षर गरेर उक्त साझेदारीको सुरुवात गरेका हुन् ।

सम्झौता अनुसार लर्ड बुद्ध एजुकेशन फाउन्डेशनमा अन्तिम वर्षमा अध्ययनरत तथा कलेजबाट उत्तीर्ण विद्यार्थीहरूले खल्तीमा इन्टर्र्निशपका लागि आवेदन दिन सक्नेछन् । छोटो अवधिको इन्टर्र्निशप पूरा गरिसकेपछि उनीहरुलाई ‘खल्ती’मा पूर्णकालिन रोजगारी प्रदान गरिनेछ । मुख्यतः खल्तीले विद्यार्थीहरुको कक्षाको पढाईमा बाधा नपुग्ने गरी इन्टर्र्निशपका लागि अनुकुल समय प्रदान गर्नेछ । साथै, कलेजसँग परामर्श गरेर परीक्षा तथा महत्वपूर्ण शैक्षिक प्रोजेक्टहरुहरुको समयमा बिदाको पनि व्यवस्था गर्नेछ ।

त्यस्तै, मास्टर डिग्री पढ्न चाहने खल्तीमा कार्यरत कर्मचारीहरुलाई लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले विशेष छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
‘खल्ती’ र ‘लर्ड बुद्ध एजुकेशन फाउन्डेशन’ बीचको यस प्रकारको सहकार्यले नेपालमा उद्योग र शैक्षिक संस्थाहरुबीच हुनुपर्ने पार्टनरशिपको उदाहरण स्थापित गर्ने र अन्य संस्थाहरुलाई पनि यस प्रकारको सहकार्य गर्न प्रोत्साहन प्रदान गर्ने अपेक्षा गरिएको छ । उक्त सम्झौताको बारेमा बोल्दै खल्तीका प्रबन्ध निर्देशक मनिष मोदीले भने,“हामी यो सहकार्य ‘खल्ती’ र लर्ड बुद्ध एजुकेशन फाउन्डेशन’ दुबैका लागि ’विन विन सिचुएशन’ भएको अपेक्षा गरेका छौँ । दुबै संस्थाहरूको एक मुख्य उद्देश्य भनेको नेपालको आईटी उद्योगको विकास गर्नु हो ।

यस सहकार्यले दुबै संस्थालाई थप उर्जा तथा हौसला प्रदान गर्नेछ भन्ने कुरामा हामी विश्वस्त छौँ । साथै, हामीले खल्तीमा इन्टर्र्निशप गर्न आउनुहुने विद्यार्थीहरुलाई प्रभावकारी रुपमा सिक्ने अवसर प्रदान गर्नुका साथै कम्पनीको कार्यबलको गुणस्तर बढाउने अपेक्षा गरेका छौँ ।”
त्यस्तै, लर्ड बुद्ध एजुकेशन फाउन्डेशनका अध्यक्ष पंकज जलानले भने,“खल्ती जस्तो एक प्रतिष्ठित कम्पनीसँग यस प्रकारको रणनीतिक सहकार्य पाउँदा हामी उत्साहित छौँैं । लर्ड बुद्ध एजुकेशन फाउन्डेशन विगत २१ वर्ष देखी अनवरत रुपमा सूचना प्रविधिको अध्ययन अध्यापन गराउँदै आएको देशकै अग्रणी शैक्षिक संस्था हो । खल्ती सँगको यस प्रकारको सहकार्य हाम्रा विद्यार्थीहरुलाई एकदमै प्रभावकारी हुने हामीले अपेक्षा गरेका छौँ ।”

नेपालमा युवा बेरोजगारी बढ्दो समस्याका रूपमा रहेका बेला सूचना प्रविधि उद्योगले भने आफ्ना रिक्त पदपूर्तिका लागि योग्य उम्मेदवार नै नपाउने समस्या झेलिरहेको छ । यस सहकार्यले उद्योग र विद्यार्थी बीच रहेको उक्त खाडल केहि हदसम्म पुर्ने अपेक्षा गरिएको छ । सन् २०१७ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती एक उदीयमान र रुचाईएको पेमेन्ट गेटवे हो । स्थापनाको यति छोटो अवधिमै नेपालका ७० भन्दा बढि जिल्लाहरुमा आफ्नो सेवा विस्तार गरिसकेको खल्ती दूरदराजमा रहेको जनसंख्यामाझ डिजिटल भुक्तानी सेवा पुर्याउन क्रीयाशिल रहेको छ । खल्ती नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो ।

खल्तीमा हाल विभिन्न सीप तथा दक्षता भएका एक सय भन्दा धेरै कर्मचारीहरु कार्यरत छन् । त्यस्तै, सन् १९९८ मा स्थापना भएको लर्ड बुद्ध एजुकेशन फाउन्डेशन नेपालको पहिलो आईटी कलेज हो । आफ्नो स्थापनाको सुरुवात देखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस कलेज एक गैर–नाफामुलक गैर–सरकारी संस्था हो ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार १७:१०