प्रदेश प्रमुखको जागिर चट भएपछि कांग्रेस नेता पाैडेलको प्रतिक्रियाः सरकार सर्वसत्तावादतर्फ
१७ कात्तिक, काठमाडाैँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पाैडेलले सरकारले सातै प्रदेशका प्रमुखको जागिर एकै पटक खोसेर मनपरी गरेको प्रतिक्रिया दिएका छन। सामाजिक सञ्जाल फेसबुक मार्फत पाैडेलले सातै प्रदेश प्रमुख पदमुक्त भएको जानकारीसहितको राष्ट्रपति कार्यालयको पत्र राखेर .गरिमामय पदलाइ मनपरी ढंगले हटाउनु गलत भएको बताए । उनले सरकारको यो कदम सर्वसत्तावादतर्फ जाने कोशिश भएको टिप्पणी गरेका छन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा सातै प्रदेशका प्रदेश प्रमुखलाई आज पदमुक्त गरेकी हुन । नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम नेपाल सरकारको मन्त्रिपरिषद्को आजको निर्णयबाट प्रदेश प्रमुखहरुलाई पदमुुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सो उपदफामा निजको पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले निजलाई पदमुक्त गरेमा प्रदेश प्रमुख पद रिक्त व्यवस्था छ ।

पदमुक्त प्रदेश प्रमुखमा प्रदेश नं १ का प्रा डा गोविन्दबहादुर तुम्बाहाङ (धनकुटा), प्रदेश नं २ का रत्नेश्वरलाल कायस्थ (काठमाडौँ), प्रदेश नं. ३ का अनुराधा कोइराला (काठमाडौँ), गण्डकी प्रदेशका बाबुराम कुँवर (अर्घाखाँची), प्रदेश नं ५ का उमाकान्त झा (धनुषा), कर्णाली प्रदेशका दुर्गाकेशर खनाल (सुर्खेत) र सुदूरपश्चिम प्रदेशका मोहनराज मल्ल (कैलाली) रहेका छन ।
उनीहरुलाई अघिल्लो सरकारले २०७४ माघ ३ गते नियुक्त गरेको थियो । निर्वाचन सम्पन्न भइसकेपछि ती प्रदेश प्रमुख नियुक्त भएकाले नयाँ सरकारले राजनीतिक निर्णयबाट हटाउने आकलन गरिँदै आएको थियो । सरकारले यसअघि निर्वाचन आचारसंहिता लागू भएपछि अघिल्लो सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय पनि गरेको थियो ।

प्रकाशित मिति : 20:29









