१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

प्रधानमन्त्री केपी ओलीको मिर्गौलाको डायलासिस गरियो, के हो डायलाइसिस ?

१३ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाले राम्रोसँग काम गर्न छाडेपछि डायलासिस गरिएको छ । बुधबार बिहान स्वास्थ्य परीक्षणका लागि ग्राण्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीको मिर्गौलाले काम गर्न छाडेपछि डायलासिस गरिएको हो । प्रधानमन्त्रीको स्वास्थ्य जाँचको रिपोर्ट आएपछि मिर्गौलाको डायलासिस गरिएको अस्पताल स्रोतले बताएको छ ।

यद्यपी यो विषयमा अस्पतालका निर्देशक डा चक्रराज पाण्डे र प्रधानमन्त्रीको निजी चिकित्सक डा दिव्यासिंह शाहले पुष्टि गरेकी छैनन् । उनीहरूले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्य सामान्य रहेको र भोलिसम्ममा डिस्चार्ज हुने उल्लेख गरिएको छ ।  प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

डायलाइसिस के हो ?
मिर्गौलाले रगत सफा गर्न नसक्ने भएपछि मेसिनको सहायतामा रगतमा भएका फोहोर तत्त्व, शरीरलाई चाहिनेभन्दा बढी मात्रामा रहेको नुन र पानी बाहिर फालेर रक्तचाप नियन्त्रणमा राख्न गरिने प्रक्रिया नै डायलाइसिस हो । यो दुई प्रकारको हुन्छ । पहिलो, हेमोडायलाइसिस । यसमा रगतलाई नलीको माध्यमबाट कृत्रिम मिर्गौला मेसिनमा पठाइन्छ र शुद्धीकरण गरेर पुनः नलीका माध्यमबाट शरीरमै फिर्ता गरिन्छ । दोस्रो, पेरिटोनियल डायलाइसिस । यसमा आफ्नै पेटको भित्री सतहको सहायतामा रगतलाई डायलाइसेट नामक तरल पदार्थको माध्यमबाट शुद्ध पारिन्छ ।

सामान्यतया मिर्गौलाको कार्यक्षमता १५ प्रतिशतभन्दा कम भएपछि डायलाइसिस गरिन्छ । मिर्गौलाको कार्यक्षमतामा ह्रास आउँदा बिरामीलाई अत्यधिक रिंगटा लाग्ने, बान्ता हुने, सुन्निने र आलस्य महसुस हुन्छ । कहिलेकाहीं पूर्वलक्षण नदेखिन पनि सक्छ । सामान्यतया मिर्गौलाले पूर्ण रूपमा काम गर्न छोडे हप्ताको ३ पटकसम्म अस्पतालमै लगेर डायलाइसिस गरिन्छ । एकपटक डायलाइसिस गर्न करिब ४ घण्टा लाग्छ ।

प्रकाशित मिति : 23:13