९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026

हेलिकोप्टरबाट गोली प्रहार गर्दा ९ जनाको मृत्यु

१० कात्तिक, दमास्कस । सिरियाको एउटा गाउँमा हेलिकोप्टरबाट गोली प्रहार गर्दा कम्तीमा ९ जनाको मृत्यु भएको छ । आइतबार बिहानै भएको आक्रमणमा परी मृत्यु भएका सबैजना इस्लामिक स्टेट (आईएस)सँग आबद्ध लडाकू रहेको अधिकारीहरुले जनाएका छन् । सिरियाको उत्तरपश्चिमी इड्लीब प्रान्तमा घटना भएको स्थानीय सञ्चार माध्यमहरुले समाचार सम्प्रेषण गरेका छन् ।

आइएस लडाकूहरुको समूह लुकेर बसेको भन्ने सूचनाका आधारमा सो गाउँमा अमेरिकी वायुसेनाले आक्रमण गरेको सरकारी अधिकारीहरुको भनाई छ । आइएस लडाकू रहेको घर र कारलाई लक्षित गरेर इड्लीब प्रान्तको बरिशा भन्ने गाउँमा आक्रमण भएको थियो ।सिरियन अब्जरभेटरी फर ह्युमन राइटस्ले आक्रमणमा परी आइएस लडाकूका नेता अबु बाकर अल बग्दादीको पनि मृत्यु भएको विश्वास गरिएको जनाएको छ ।

अब्जरभेटरीका प्रमुख रमी अब्देल रहमानले अमेरिकी नेतृत्वको सैन्य गठबन्धनले गरेको आक्रमणमा परी अतिवादीहरुको समूहका केही नेता र सदस्यहरुको मृत्यु भएको जानकारी दिनुभयो । “बग्दादी मारिएका हुन् वा होइनन् भन्ने बारेमा पुष्टी गर्न सक्ने अवस्थामा छैनौं, तर उनी त्यही क्षेत्रमा लुकेर बसेको आशंका थियो,” उहाँले भन्नुभयो ।

प्रकाशित मिति : October 27, 2019 at 1:52 pm