१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

कडा मेहनतको प्रतिफल हो डुइङ विजिनेसमा सुधारः अर्थमन्त्री खतिवडा

८ कात्तिक, काठमाडाैँ । अर्थमन्त्री डा युवराज खतिवडाले ‘डुइङ विजिनेस–२०२०’ मा नेपालको स्थानमा सुधार आउनुमा नेपाली सरोकारवाला सहकर्मीको कडा मेहनतको प्रतिफल भएको बताउनुभएको छ । अर्थमन्त्रालय र विश्व बैंक समूहको संयुक्त आयोजनामा नेपाल डुइङ विजिनेस सूचकाङ्कमा सुधार सम्बन्धमा यहाँ आयोजित सम्मेलनमा मन्त्री खतिवडाले सङ्घीयता खर्चिलो व्यवस्था भन्दै शङ्का उब्जाइएको अवस्थामा यस्तो सफलता हासिल हुनु निश्चय नै खुशीको कुरा भएको बताउनुभयो ।

उहाँले हामीले सङ्घीयता कार्यान्वयनको दोस्रो वर्षमै यो सफलता हासिल हुनुमा सङ्क्रमणकाल छोट्याउनु र एक वर्षमै दर्जनौँ कानून बन्नु पनि हो भन्नुभयो । यसले हामीलाई वित्तीय सङ्घीयता कार्यान्वयन गर्न प्रोत्साहित गरेको र अर्को वर्षदेखि हामीलाई समस्या नहुने पनि उहाँले बताउनुभयो । हामीले उद्योग व्यवसायका लागि सडक पहुँच र बिजुली पु¥याएका छौँ, भन्सारका पूर्वाधारमा सुधार गरेको अर्थमन्त्री खतिवडाले बताउनुभयो ।

कार्यक्रममा विश्व बंैक समूहका देशीय निर्देशक फरिस एच हदाद जर्भोसले नेपालले डुइङ विजिनेसमा राम्रो सफलता हासिल गरेको र राम्रो कार्य सम्पादन गरेको तर यो यात्राको शुरुआत मात्र हो भन्नुभयो । उहाँले नेपाल सरकारसँग यस विषयमा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । “यो एउटा सुखद् समाचार हो तर पनि चुनौती अझै पनि रहेका छन्”, उहाँले भन्नुभयो । “नेपालले १६ स्थान सुधार गर्नु निश्चय नै निकै सकारात्मक कुरा हो”, उहाँले भन्नुभयो ।

फाइल तस्बीर ।

प्रधानमन्त्री कार्यालयका सचिव शिशिरकुमार ढुङ्गानाले नेपालको स्थान सुधार हुनुमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्पण उल्लेखनीय रहेको यसमा मन्त्रिपरिषद्ले समन्वय गरेको तथा आफूहरु सूचकको ग्याप कहाँ छ भनेर पत्ता लगाउन र सुधारका एजेण्डा स्थापित गर्न सक्षम भएको बताउनुभयो । कानूनमा सुधार धेरै भइसके पनि मानिसहरु पुरानै कुरा हेरेर तर्क गर्ने र नकारात्मक कुराको प्रचारप्रसार गर्ने प्रवृत्ति रहेको पनि उहाँले बताउनुभयो । अहिलेको सफलताबाट अब विदेशी लगानी भित्र्याउन पनि सहज हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री कार्यालयका उपसचिव महेश भट्टराईले कार्यपत्र प्रस्तुत गर्दै हामी सार्क राष्ट्रमा भारत र भुटानपछि मात्र छौँ तैपनि सन्तुष्ट भएर नबस्ने बताउनुभयो । उहाँले एकीकृत भन्सार स्थापना हुनु, अदालती प्रक्रिया विश्वसनीय हुनु, भूमि प्रशासनमा सुधार हुनु र वानस्टप सेन्टर लागू हुनुले सुखद् परिणाम ल्याएको बताउनुभयो ।

उद्योगी शेखर गोल्छाले नेपाल ११० स्थानबाट ९४ स्थानमा आउनु ठूलो उपलब्धि भएको बताउँदै अर्थमन्त्रीलाई बधाई दिनुभयो । “अब हामी लगानी भित्र्याउन सुध्रेको राष्ट्र भएका छौँ”, उहाँले भन्नुभयो । कार्यक्रममा विश्व बैंक समूहका प्रमुख निजी क्षेत्र विशेषज्ञ पिटर मुस्लेले नेपालको डुइङ विजिनेसमा उल्लेखनीय सुधार गरेकोमा खुशी व्यक्त गर्नुभयो ।

विश्व बैंकले बिहीबार प्रकाशित गरेको विश्वव्यापी डुइङ विजिनेस सूचाङ्क अर्थात् व्यापार व्यवसाय गर्ने वातावरणको सूचकाङ्कमा नेपाल अघिल्लो वर्षको ११० स्थानबाट ९४ स्थानमा उक्लेको प्रतिवेदन प्रकाशित गरेको थियो । सूचकाङ्कमा विश्वका १९० राष्ट्रको मूल्याङ्कन गरिएको थियो । नेपालले १०० पूर्णाङ्कमा ६३.२ अङ्क प्राप्त गरेको थियो । सूचकाङ्कमा सार्क राष्ट्रहरु श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान नेपालभन्दा पछि नै रहेका छन् । रासस

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार २२:०८